२०८३, कार्तिक १९ गते

Nov 04 2026

धुलिखेल नगरपालिकाले प्रयाेगमा ल्यायाे एआई टेलिफाेनी प्रणाली ‘टिङ टिङ’, नगरवासीसँग सीधा सम्पर्क

धुलिखेल नगरपालिकाले प्रयाेगमा ल्यायाे एआई टेलिफाेनी प्रणाली ‘टिङ टिङ’, नगरवासीसँग सीधा सम्पर्क

मंगलवार, भाद्र १७ २०८२
मंगलवार, भाद्र १७ २०८२
  • काठमाण्डाै – काभ्रेकाे धुलिखेल नगरपालिकाले नगरवासीसँग नेपाली भाषामै सीधा सम्पर्क स्थापित गर्न एआई टेलिफाेनी प्रणाली प्रयाेगमा ल्याएकाे छ ।

    नागरिक र सरकारबीचको सम्बन्धलाई पुनर्परिभाषित गर्दै नगरपालिकाका महत्त्वपूर्ण सूचनाहरू जस्तै– कर तिर्ने म्याद, जन्मदर्ता सङ्कलन वा स्वास्थ्य शिविरको जानकारी सबैसम्म पुर्‍याउन ‘टिङ टिङ’ एआई टेलिफाेनी प्रणाली प्रयाेगमा ल्याएकाे हाे । याे प्रणालीले एकैसाथ हजाराैंलाई उनीहरूकै नाममा सम्बोधन गर्दै नेपाली भाषामा स्वचालित फोन कल गर्न सकिने नगरपालिकाले जनाएकाे छ ।

    विश्व एआई प्रविधिको दौडमा अघि बढिरहेका बेला नेपालका स्थानीय सरकार पनि पछि छैनन् भन्ने उदाहरण धुलिखेल नगरपालिकाले प्रस्तुत गरेको छ । प्रणालीबारे धुलिखेल नगरपालिकाका मेयर अशोककुमार ब्यान्जु श्रेष्ठले भन्नुभयो, ‘एआईको दौडमा सरकार पहिलो हुनुपर्छ, अनि हामी शुरू गर्दैछौँ ‘टिङ टिङ’ बाट । स्थानीय सरकारले नागरिकहरूलाई दिने सेवामा संविधानले प्रदान गरेको अधिकार क्षेत्रभित्र २२ वटा अधिकारमा थुप्रै काम गर्नुपर्छ । ती थुप्रै कामहरूलाई सहज र सुलभ बनाउनका लागि धुलिखेल नगरपालिकाले डिजिटल सेवालाई प्राथमिकता दिएर काम गरिरहेको छ ।’

    मेयर श्रेष्ठले ३८ हजार नगरवासीलाई गुणस्तरीय रूपमा सेवा दिनका लागि अब एआई प्रणालीबाट पनि सूचना आदानप्रदान गर्ने प्रक्रियामा अगाडि बढेकाे बताउनुभयाे । टेलिफोन र नेपाली भाषाजस्तो सबैभन्दा सरल र प्राकृतिक माध्यमबाट सूचना प्रवाह गर्दा कुनै पनि नागरिक पछाडि नपर्ने नगरपालिकाको विश्वास छ ।

    धुलिखेलको यो कदमले नेपालमा डिजिटल रूपान्तरणको नेतृत्व स्थानीय तहबाटै सम्भव छ भन्ने उदाहरण प्रस्तुत गरेको छ । यसले देशका अन्य सरकारी निकायहरूलाई पनि प्रविधि अपनाएर नागरिक सेवालाई अझ प्रभावकारी र समावेशी बनाउन प्रेरित गर्ने  छ ।

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij