काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष Pushpa Kamal Dahal ले संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझ परिपक्व, समावेशी र जनमुखी बनाउँदै लैजानुपर्ने बताएका छन् । गणतन्त्र दिवस–२०८३ को अवसरमा जारी शुभकामना सन्देशमार्फत उनले वर्तमान व्यवस्थाको विकल्प फेरि अर्को व्यवस्था नभई अझ उन्नत र प्रभावकारी गणतन्त्र नै भएको स्पष्ट पारेका हुन् ।
उनले नेपाली जनताको दशकौँ लामो संघर्ष, हजारौँ सहिदको बलिदान र त्यागबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रलाई राष्ट्रको ऐतिहासिक उपलब्धिका रूपमा व्याख्या गरे । यो उपलब्धि कुनै एक दल वा नेताको मात्र नभई परिवर्तन चाहने सम्पूर्ण नेपालीको साझा सम्पत्ति भएको उनको भनाइ छ ।
प्रचण्डले संविधानले स्थापित गरेका मूल्य, मान्यता र उपलब्धिमाथि कुनै प्रकारको सम्झौता स्वीकार्य नहुने उल्लेख गर्दै संविधानको प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन् । राज्य सञ्चालनमा देखिएका पुराना सोच, स्वेच्छाचारी प्रवृत्ति तथा कमजोरीलाई सुधार्दै जनअधिकार, लोकतान्त्रिक अभ्यास र समावेशितालाई थप मजबुत बनाउनुपर्ने आवश्यकता उनले औंल्याए ।
उनले समानुपातिक र समावेशी प्रतिनिधित्वलाई अझ प्रभावकारी बनाउँदै पछाडि पारिएका समुदाय, वर्ग र क्षेत्रका अधिकार सुनिश्चित गर्नुपर्ने धारणा पनि राखेका छन् । राजनीतिक स्थायित्व, सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका लागि राजनीतिक दलहरूबीच सहकार्य र संवाद अपरिहार्य रहेको उनको भनाइ छ ।
सन्देशमा उनले राष्ट्रिय हितका विषयमा सबै राजनीतिक शक्ति एकजुट हुनुपर्ने उल्लेख गर्दै संविधान, लोकतन्त्र र गणतन्त्रको संरक्षणलाई साझा जिम्मेवारीका रूपमा लिन आग्रह गरेका छन् । साथै, परिवर्तनका उपलब्धिलाई कमजोर बनाउने गतिविधिप्रति सचेत रहँदै आत्मनिर्भर, समृद्ध र न्यायपूर्ण नेपाल निर्माणमा सबैलाई एकताबद्ध हुन आह्वान गरेका छन् ।