२०८३, कार्तिक १९ गते

Nov 04 2026

प्रतिस्पर्धाबाट राजदूत छनोटको तयारी, सरकारले खुलायो आवेदन

प्रतिस्पर्धाबाट राजदूत छनोटको तयारी, सरकारले खुलायो आवेदन

रोज नेपाल
शुक्रवार, जेठ १५ २०८३
रोज नेपाल
शुक्रवार, जेठ १५ २०८३
  • काठमाडौं । Ministry of Foreign Affairs Nepal ले पहिलोपटक खुला प्रतिस्पर्धामार्फत राजदूत नियुक्ति प्रक्रिया अघि बढाउँदै इच्छुक तथा योग्य नेपाली नागरिकबाट आवेदन माग गरेको छ । मन्त्रालयले आगामी जेठ २२ गते साँझ ५ बजेसम्म आवेदन दिन सकिने जनाएको छ ।

    मन्त्रालयका अनुसार राजदूत बन्न चाहने व्यक्तिले कम्तीमा ३५ वर्ष उमेर पूरा गरेको नेपाली नागरिक हुनुपर्नेछ । साथै, नेपाल सरकारले मान्यता दिएको विश्वविद्यालयबाट न्यूनतम स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने व्यवस्था गरिएको छ ।

    राजदूतका लागि सार्वजनिक गरिएको मापदण्डअनुसार भ्रष्टाचार वा नैतिक पतनसम्बन्धी कसुरमा अदालतबाट दोषी ठहर भएको व्यक्ति अयोग्य हुनेछन् । सरकारी सेवाबाट बर्खास्त गरिएको वा भविष्यमा सरकारी सेवाका लागि अयोग्य घोषित व्यक्तिले पनि आवेदन दिन पाउने छैनन् ।

    त्यस्तै, विदेशमा स्थायी वा अस्थायी बसोबास गरेको व्यक्ति, विदेशी दातृ निकायबाट तलब वा सुविधा लिएको अवस्थामा आवश्यक ‘कुलिङ पिरियड’ पूरा नगरेको व्यक्ति तथा नेपाल सरकार वा विदेशी संस्थाको कालोसूचीमा परेका व्यक्तिलाई पनि अयोग्य मानिनेछ ।

    मन्त्रालयले कूटनीतिक अनुभव, बहुपक्षीय तथा द्विपक्षीय सम्बन्धबारे ज्ञान, भियना सन्धिसम्बन्धी समझ तथा सम्बन्धित देशको भाषा ज्ञानलाई विशेष प्राथमिकता दिएको छ । अंग्रेजी भाषामा दक्षता भने अनिवार्य गरिएको छ ।

    यस्तै, पोस्टिङ हुने देशसँग व्यक्तिगत वा व्यावसायिक स्वार्थ गाँसिएको हुनु नहुने, उच्च नैतिक चरित्र भएको तथा जुनसुकै परिस्थितिमा पनि जिम्मेवारी सम्हाल्न सक्ने क्षमता भएको हुनुपर्ने मापदण्डमा उल्लेख छ ।

    सरकारले खुला प्रतिस्पर्धाबाट राजदूत छनोट प्रक्रिया सुरु गरेको यो कदमलाई कूटनीतिक नियुक्तिलाई थप पारदर्शी र व्यवस्थित बनाउने प्रयासका रूपमा हेरिएको छ ।

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij