२०८३, भाद्र ३१ गते

Sep 16 2026

लगातार दोस्रो वर्ष आईपीएलको ताज आरसीबीको नाम, गुजरात फाइनलमा पराजित

लगातार दोस्रो वर्ष आईपीएलको ताज आरसीबीको नाम, गुजरात फाइनलमा पराजित

रोज नेपाल
सोमवार, जेठ १८ २०८३
रोज नेपाल
सोमवार, जेठ १८ २०८३
  • काठमाडौं । रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) ले आईपीएल २०२६ को उपाधि जित्दै लगातार दोस्रो वर्ष च्याम्पियन बन्न सफल भएको छ। आइतबार अहमदाबादस्थित नरेन्द्र मोदी रङ्गशालामा सम्पन्न फाइनल खेलमा गुजरात टाइटन्सलाई पाँच विकेटले पराजित गर्दै आरसीबीले आफ्नो उत्कृष्ट लय कायम राखेको हो।

    टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १५५ रन बनाएको थियो। शीर्ष क्रमका ब्याट्सम्यान अपेक्षाअनुसार चल्न नसके पनि वासिङ्टन सुन्दरको अविजित अर्धशतकले टोलीलाई प्रतिस्पर्धात्मक स्कोरसम्म पुर्‍याएको थियो।

    १५६ रनको लक्ष्यसहित मैदान उत्रिएको आरसीबीले आक्रामक सुरुआत गर्‍यो। वेंकटेश अय्यर र विराट कोहलीले पहिलो विकेटका लागि ६२ रनको साझेदारी गर्दै टोलीलाई बलियो आधार दिए। अय्यर ३२ रनमा आउट भए पनि कोहलीले एक छेउ सम्हाल्दै जिततर्फ टोलीलाई डोर्‍याए।

    मध्यक्रममा केही विकेट चाँडै गुमेपछि आरसीबी दबाबमा देखिएको थियो। तर विराट कोहली र टिम डेभिडबीच भएको महत्वपूर्ण साझेदारीले टोलीलाई पुनः लयमा फर्कायो। डेभिड २४ रनमा आउट भए पनि कोहली अन्तिमसम्म क्रिजमा टिके।

    कोहलीले ४२ बलमा अविजित ७५ रनको शानदार इनिङ्स खेले। उनले ९ चौका र ३ छक्का प्रहार गर्दै फाइनलमा निर्णायक भूमिका निभाए। १८औँ ओभरको अन्तिम बलमा छक्का प्रहार गर्दै उनले आरसीबीलाई ऐतिहासिक जित दिलाए। जितेश शर्मा ११ रनमा अविजित रहे।

    यसअघि गुजरातका लागि वासिङ्टन सुन्दरले ३७ बलमा अविजित ५० रन बनाए। निशान्त सिन्धुले २०, जोस बटलरले १९ तथा अर्शद खानले १५ रनको योगदान दिए। कप्तान शुभमन गिल र साई सुदर्शन भने ठूलो इनिङ्स खेल्न सकेनन्।

    बलिङतर्फ आरसीबीका रसिख सलाम डारले तीन विकेट लिएर उत्कृष्ट प्रदर्शन गरे। जोश हेजलउड र भुवनेश्वर कुमारले समान दुई–दुई विकेट लिए भने क्रुणाल पाण्ड्याले एक विकेट हात पारे।

    २०२५ मा पहिलो पटक आईपीएल उपाधि जितेर लामो प्रतीक्षा अन्त्य गरेको आरसीबीले २०२६ मा पनि ट्रफी आफ्नो कब्जामा पार्दै प्रतियोगितामा नयाँ इतिहास रचेको छ। लगातार दुई वर्ष च्याम्पियन बन्ने उपलब्धिसँगै टोलीले आफ्नो प्रभुत्व थप मजबुत बनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij