२०८३, आश्विन १ गते

Sep 17 2026

पाँचखालमा उन्नत धानको सफल परीक्षण, प्रविधिसँगै उत्पादनमा उल्लेखनीय वृद्धि

पाँचखालमा उन्नत धानको सफल परीक्षण, प्रविधिसँगै उत्पादनमा उल्लेखनीय वृद्धि

रोज नेपाल
सोमवार, जेठ १८ २०८३
रोज नेपाल
सोमवार, जेठ १८ २०८३
  • धुलिखेल । काभ्रेपलाञ्चोकको पाँचखालमा गरिएको उन्नत धान जात तथा आधुनिक खेती प्रविधिको परीक्षणले धान उत्पादनमा उल्लेखनीय वृद्धि सम्भव रहेको देखाएको छ। कृषि क्षेत्रमा प्रविधिको प्रयोग बढ्दै जाँदा परम्परागत खेती प्रणालीलाई विस्थापित गर्दै व्यावसायिक कृषि अभ्यास प्रभावकारी बन्दै गएको निष्कर्ष निकालिएको छ।

    कृषि विकास कार्यालय, काभ्रेपलाञ्चोकले सञ्चालन गरेको परीक्षण कार्यक्रममा विभिन्न उन्नत धानका जातसँगै वैज्ञानिक खेती प्रणाली अपनाइएको थियो। कार्यालय प्रमुख कुलप्रसाद दवाडीका अनुसार परीक्षणले आधुनिक बीउ, वैज्ञानिक व्यवस्थापन र प्रविधिको प्रयोगमार्फत उत्पादन क्षमता वृद्धि गर्न सकिने स्पष्ट संकेत दिएको छ।

    नेपालमा धान प्रमुख खाद्यान्न बाली भए पनि परम्परागत जात र खेती प्रविधिका कारण अपेक्षित उत्पादन हासिल हुन नसकेको अवस्थामा उन्नत जातको परीक्षण गरिएको हो। परीक्षणमा ‘मकवानपुर–१’, ‘हर्दिनाथ हाईब्रिड–१’, ‘एचक्यू–००२’ र स्थानीय ‘जीजे–१०’ जात समावेश गरिएको थियो।

    प्राप्त नतिजाअनुसार ‘एचक्यू–००२’ सबैभन्दा सफल सावित हुँदै प्रतिहेक्टर ६.२ टन उत्पादन दिन सफल भएको छ। त्यस्तै हर्दिनाथ हाईब्रिड–१ बाट ५.४ टन, जीजे–१० बाट ५.१ टन र मकवानपुर–१ बाट ४.३ टन उत्पादन भएको कृषि विकास कार्यालयले जनाएको छ।

    बाली संरक्षण प्राविधिक सहायक झलक खत्रीका अनुसार उन्नत बीउको प्रयोग, लाइनमा रोपाइँ, बीउ उपचार, सन्तुलित मल व्यवस्थापन, समयमै सिँचाइ तथा रोग–कीरा नियन्त्रणका वैज्ञानिक उपायहरूले उत्पादन वृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेका छन्।

    परीक्षणका क्रममा सेमी अटोमेटेड राइस ट्रान्सप्लान्टरको प्रयोग गरिएको थियो। यस प्रविधिले श्रम लागत घटाउनुका साथै रोपाइँलाई थप व्यवस्थित र प्रभावकारी बनाएको प्रतिवेदनमा उल्लेख छ।
    कृषि विज्ञहरूका अनुसार यस्ता प्रविधिमैत्री अभ्यासलाई किसानस्तरसम्म विस्तार गर्न सके खाद्यान्न उत्पादन बढ्नुका साथै कृषि पेशालाई अझ व्यावसायिक र प्रतिस्पर्धी बनाउन मद्दत पुग्नेछ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij