काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य Harka Sampang मोटरसाइकल दुर्घटनामा परेका छन्। उदयपुरको कटारीबाट बेलकातर्फ जाँदै गर्दा उनी सवार मोटरसाइकल अनियन्त्रित भई सडकमा लडेको जनाइएको छ।
प्राप्त जानकारीअनुसार साम्पाङले एक हातले मोटरसाइकल चलाउँदै अर्को हातले मोबाइल फोन प्रयोग गरी भिडियो खिचिरहेका थिए। सोही क्रममा सन्तुलन बिग्रिएपछि दुर्घटना भएको बताइएको छ।
दुर्घटनापछि सार्वजनिक भिडियोमा उनको हातमा सामान्य चोट लागेको र लगाएको कपडा च्यातिएको देखिन्छ। यद्यपि घटनामा गम्भीर चोटपटक भने नलागेको जनाइएको छ।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै साम्पाङले आफूलाई सामान्य चोट लागेको उल्लेख गरेका छन्। उनले दुर्घटनाबाट अन्य व्यक्ति वा सवारीसाधनलाई कुनै क्षति नपुगेको बताएका छन्।
यस घटनापछि सामाजिक सञ्जालमा ट्राफिक नियमको पालना सम्बन्धी बहस चर्किएको छ। सवारी चलाउँदा मोबाइल फोन प्रयोग गर्नु कानुनविपरीत मानिने भएकाले सार्वजनिक जिम्मेवारीमा रहेका व्यक्तिले समेत नियमको पालना गर्नुपर्ने भन्दै विभिन्न टिप्पणीहरू आएका छन्।