२०८३, आश्विन १ गते

Sep 17 2026

रास्वपा जिल्ला अधिवेशनमा संस्थापनको प्रभाव, वैकल्पिक समूहको उपस्थिति सीमित

रास्वपा जिल्ला अधिवेशनमा संस्थापनको प्रभाव, वैकल्पिक समूहको उपस्थिति सीमित

सोमवार, जेठ २५ २०८३
सोमवार, जेठ २५ २०८३
  • काठमाडौ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विभिन्न जिल्लामा सम्पन्न प्रथम जिल्ला अधिवेशनबाट चयन भएका नयाँ नेतृत्वमा संस्थापन पक्षको प्रभाव स्पष्ट देखिएको छ। हालसम्म सम्पन्न अधिकांश जिल्ला अधिवेशनमा सभापति रवि लामिछाने निकट नेताहरू नेतृत्वमा पुगेका छन्।

    शनिबार र आइतबार सम्पन्न ५० भन्दा बढी जिल्लाको अधिवेशनबाट नयाँ कार्यसमिति चयन गरिएको हो। पार्टीभित्र रहेका विभिन्न धारामध्ये संस्थापन पक्षले अधिकांश जिल्लामा नेतृत्व आफ्नो पक्षमा राख्न सफल भएको नेताहरूको बुझाइ छ।

    पार्टी एकीकरणपछि समायोजन गरिएका बालेन्द्र शाह समर्थक तथा पूर्व विवेकशील साझा समूहका नेताहरूले पनि नेतृत्वमा दाबी प्रस्तुत गरेका थिए। तर अधिवेशनको नतिजाले ती समूहको प्रभाव अपेक्षाकृत कमजोर रहेको संकेत गरेको छ। केही जिल्लामा भने नेतृत्व चयनका क्रममा फरक समूहबीच प्रतिस्पर्धा समेत देखिएको बताइएको छ।

    रास्वपाले यसअघि पार्टीभित्रको एकता र समावेशी प्रतिनिधित्वलाई ध्यानमा राख्दै विभिन्न तहमा जिम्मेवारी बाँडफाँट गरेको थियो। आगामी महाधिवेशनमा पनि सबै पक्षलाई समेटेर अघि बढ्ने तयारी रहेको पार्टी नेतृत्वले जनाउँदै आएको छ।

    संगठन विभागका पदाधिकारीका अनुसार निर्धारित कार्यतालिकाअनुसार अधिकांश जिल्लाको अधिवेशन सम्पन्न भइसकेको छ भने बाँकी केही जिल्लाको अधिवेशन पनि छिट्टै सम्पन्न गरिनेछ। जिल्ला अधिवेशनको परिणामलाई पार्टीको आन्तरिक शक्ति सन्तुलन र आगामी महाधिवेशनको संकेतका रूपमा समेत हेरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij