हेटौँडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बागमती प्रदेशस्तरीय प्रथम अधिवेशन आजदेखि हेटौँडामा सुरु भएको छ। हेटौँडा–१ स्थित हिमालयन दरबार पार्टी प्यालेसमा आयोजित अधिवेशनमा प्रदेशका १३ जिल्लाबाट करिब १ हजार ५ सय प्रतिनिधिको सहभागिता रहने जनाइएको छ।
अधिवेशनका लागि बिहानैदेखि प्रतिनिधि, नेता तथा कार्यकर्ताको उपस्थितिसँगै कार्यक्रमस्थलमा चहलपहल बढेको छ। अधिवेशनले प्रदेश संगठनको नयाँ नेतृत्व चयन गर्ने मुख्य एजेन्डा अघि सारेको छ।
यसबीच, अधिवेशन उद्घाटनमा पार्टी सभापति रवि लामिछाने सहभागी नहुने भएका छन्। प्रारम्भिक कार्यक्रमअनुसार उनी हेटौँडा आउने चर्चा भए पनि प्रतिनिधिसभाको बैठकका कारण उपस्थित हुन नसक्ने जानकारी पार्टी स्रोतले दिएको छ।
उद्घाटन कार्यक्रममा सहभागी हुन केन्द्रीय सदस्यहरू पुकार बम र राजीव खत्री लगायतका नेताहरू भने सोमबार नै हेटौँडा पुगिसकेका छन्।
यद्यपि, सभापति आउने वा नआउने विषयमा आधिकारिक जानकारी प्राप्त नभएको भन्दै बागमती प्रदेश सभापति अत्युत्तम लामिछाने र मकवानपुर जिल्ला सभापति सञ्जीव पाठक ले स्पष्ट प्रतिक्रिया दिएका छैनन्।
यसअघि प्रदेश तथा जिल्ला समितिले अधिवेशन उद्घाटनका लागि सभापति लामिछानेको उपस्थितिलाई प्रचार सामग्रीमा समेटेका थिए। तर अन्तिम समयमा कार्यक्रम तालिकामा परिवर्तन भएपछि उनी हेटौँडा नआउने निश्चित भएको बताइएको छ।