२०८३, आश्विन २ गते

Sep 18 2026

‘देश नबिर्सनुस् प्रधानमन्त्री’ : संसदमा कवितामार्फत बालेनलाई काँग्रेस सांसदको प्रश्न

‘देश नबिर्सनुस् प्रधानमन्त्री’ : संसदमा कवितामार्फत बालेनलाई काँग्रेस सांसदको प्रश्न

रोज नेपाल
बिहिवार, जेठ २८ २०८३
रोज नेपाल
बिहिवार, जेठ २८ २०८३
  • काठमाडौं । नेपाली कांग्रेसकी सांसद सीता थपलिया ले प्रतिनिधिसभाको बैठकमा कवितामार्फत प्रधानमन्त्री बालेन्द्र साह लाई राष्ट्रियता, जिम्मेवारी र जनविश्वासबारे स्मरण गराउँदै कटाक्ष गरेकी छन्।


    बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद थपलियाले ‘देश बिर्सिएको दिन’ शीर्षकको कविता वाचन गर्दै प्रधानमन्त्रीले देश, माटो र जनताप्रतिको दायित्वबाट विमुख हुन नहुने बताइन्। उनले स्वार्थका कारण धेरै कुरा बिर्सन सकिए पनि जनताको विश्वास, जन्मभूमिको माटो र अभिभावकको आशिष् कहिल्यै नबिर्सन आग्रह गरिन्।
    कवितामार्फत उनले देश निर्माणको प्रतिबद्धता जनाउने नेताले आफ्ना अभिव्यक्ति र जिम्मेवारीप्रति गम्भीर हुनुपर्ने धारणा राखिन्। माटोको सम्मान गर्ने कसम खानेहरू नै पछि त्यही माटोमाथि प्रश्न उठाउन थाले देशप्रति जनताको विश्वास कमजोर बन्न सक्ने उनको संकेत थियो।


    सांसद थपलियाले निरन्तर बिर्सने प्रवृत्ति बढ्दै गए अन्ततः देशकै अस्तित्व र राष्ट्रिय स्वाभिमान ओझेलमा पर्न सक्ने चेतावनी दिँदै “देश बिर्सिने दिन कसको नेतृत्व गर्ने ?” भन्ने प्रश्नसमेत उठाइन्।
    प्रधानमन्त्री साहले हालै नेपाल–भारत सीमा सम्बन्धी विषयमा दिएको अभिव्यक्तिपछि राजनीतिक वृत्तमा बहस चर्किएको छ। सोही विषयलाई लिएर विपक्षी दलहरूले आपत्ति जनाउँदै आएका छन् भने संसदमा समेत त्यसको प्रतिध्वनि सुनिन थालेको छ। सांसद थपलियाको कविता पनि त्यही बहसको निरन्तरता भएको रूपमा हेरिएको छ।थपलियाको कविता शीर्षक

    देश बिर्सिएको दिन’

    तिमीले देश बनाउँछु भन्यौ, म ढुक्क थिएँ,
    तर आफ्नै आमाको अस्मितामाथि औँला उठायौ।
    माटो छोएर कसम खायौ,
    तर त्यही माटोमाथि प्रश्न गर्न थाल्यौ।
    स्वार्थले प्रेरित भएपछि धेरै कुरा बिर्सन सकिएला,
    तर मत दिएर भरोसा गर्ने जनतालाई नबिर्स।
    जनता उभिएको माटोलाई नबिर्स।
    तिमीलाई आशिष् दिने बा–आमालाई नबिर्स।
    यसरी बिर्सने क्रम बढ्दै गयो भने
    एक दिन देशलाई नै बिर्सन सक्छौ।
    तर जुन दिन देश बिर्सन्छौ,
    त्यो दिन तिमी कसको शासक बन्नेछौ ?

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij