२०८३, आश्विन १ गते

Sep 17 2026

इप्पान निर्वाचनमा बलराम खतिवडा समूहको घोषणापत्र सार्वजनिक, ऊर्जा क्षेत्र सुधारलाई मुख्य एजेन्डा

इप्पान निर्वाचनमा बलराम खतिवडा समूहको घोषणापत्र सार्वजनिक, ऊर्जा क्षेत्र सुधारलाई मुख्य एजेन्डा

रोज नेपाल
बिहिवार, जेठ २८ २०८३
रोज नेपाल
बिहिवार, जेठ २८ २०८३
  • काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) को आगामी नेतृत्व चयनका लागि बलराम खतिवडा समूहले आफ्नो चुनावी प्रतिबद्धता सार्वजनिक गरेको छ। ‘परिवर्तनका लागि सहभागितामूलक तथा प्रतिनिधिमूलक नयाँ र अनुभवी नेतृत्व’ भन्ने नारासहित समूहले ऊर्जा क्षेत्रको विकास र संस्थागत सुधारलाई केन्द्रमा राख्दै चुनावी अभियान अघि बढाएको हो।


    वर्तमान महासचिव समेत रहेका बलराम खतिवडाको नेतृत्वमा चुनावी मैदानमा उत्रिएको समूहले इप्पानको विधान संशोधन, संस्थागत सुशासन र लोकतान्त्रिक अभ्यासको सुदृढीकरणलाई प्रमुख प्राथमिकतामा राखेको छ। समूहले २३औँ साधारण सभाबाट पारित महासंघीय संरचना र वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था खारेज गर्ने निर्णय कार्यान्वयन नभएको भन्दै त्यसप्रति असन्तुष्टि जनाएको छ।


    प्रतिबद्धता पत्रमा ऊर्जा क्षेत्रको दीर्घकालीन विकासका लागि सरकारको १० वर्षभित्र ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यमा सहकार्य गर्ने उल्लेख गरिएको छ। साथै, विद्युत् प्राधिकरणमा रोकिएका १६ हजार मेगावाटभन्दा बढी क्षमताका आयोजनाको विद्युत् खरिद सम्झौता (पीपीए) प्रक्रिया खुलाउन पहल गर्ने, ऊर्जा सम्बन्धी कानुनहरूलाई निजी क्षेत्रमैत्री बनाउन दबाब सिर्जना गर्ने तथा बैंक तथा वित्तीय संस्थाको ऊर्जा क्षेत्रमा लगानी बढाउने वातावरण तयार गर्न पहल गर्ने योजना समेटिएको छ।


    संस्थागत सुधारअन्तर्गत सदस्य कम्पनीका समस्या समाधानका लागि हेल्प डेस्क स्थापना गर्ने, ऊर्जा पत्रकारहरूको क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्ने तथा आगामी तीन वर्षभित्र इप्पानको आफ्नै भवन निर्माण गर्ने लक्ष्य पनि समूहले सार्वजनिक गरेको छ। निर्माण सम्पन्न जलविद्युत् आयोजनाको व्यक्तिगत जमानत स्वतः फुकुवा हुने व्यवस्था र बीमा प्रिमियमसम्बन्धी समस्याको समाधानका लागि पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गरिएको छ।


    खतिवडा समूहबाट वरिष्ठ उपाध्यक्षमा स्वयं बलराम खतिवडा उम्मेदवार बनेका छन्। उपाध्यक्ष पदका लागि भरत बहादुर खत्री, भरत प्रसाद नेपाल, कुमार खरेल, दीपक पौडेल र सिर्जना खड्का प्रतिस्पर्धामा छन्।
    त्यसैगरी महासचिवमा प्रकाशचन्द्र दुलाल, सचिवहरूमा कृष्णप्रसाद घिमिरे, तारा बहादुर इस्वो लिम्बु, वीरेन्द्रबहादुर मल्ल, संगीता धमला र इशा श्रेष्ठ तथा कोषाध्यक्षमा मिथुन पौडेल उम्मेदवार रहेका छन्। सदस्य पदमा सोमनाथ कँडेल, डा. भूषण गुरागाईंसहित २३ सदस्यीय टोली चुनावी प्रतिस्पर्धामा उत्रिएको छ। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij