काठमाडौं। काठमाडौं महानगरपालिका वडा नं. १६ खुसीबुँ, नयाँबजारस्थित बहुउद्देश्यीय मार्सलआर्ट भवनमा ११औँ वडा राष्ट्रिय ई–लाइट केनवाकाइ कराते च्याम्पियनसिप–२०२६ भव्य रूपमा सुरु भएको छ। देशका विभिन्न जिल्लाबाट आएका कराते खेलाडीहरूको उल्लेखनीय सहभागितासहित प्रतियोगिताले उत्साहपूर्ण वातावरण सिर्जना गरेको छ।
कार्यक्रमको सञ्चालन कराते क्लब बालाजुटार, काठमाडौंका अध्यक्ष सूर्यप्रसाद घिमिरेले गर्नुभएको थियो भने कार्यक्रमको सभापतित्व जापान गोजुरियो कराते केनवाकाइ नेपाल संघका अध्यक्ष विदुर कुँवरले गर्नुभएको थियो। प्रतियोगिताको उद्घाटन नेपाल कराते महासंघका महासचिव दावा गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।
कार्यक्रममा नेपाल एकायन कराते संघका संस्थापक अध्यक्ष कृष्ण डंगोल, नेपाल बेसबल तथा सफ्टबल संघका महासचिव प्रदीप शाह, टोल सुधार तथा उपभोक्ता समिति बालाजुटारकी अध्यक्ष कमला पौडेल, सामुदायिक केन्द्र बोहोराटारका अध्यक्ष शिवकुमार बोहोरा, टोल सुधार तथा उपभोक्ता समिति अध्यक्ष रामेश्वर रेग्मी तथा सामुदायिक विकास केन्द्रका अध्यक्ष भीष्मकान्त घिमिरे लगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
प्रतियोगितामा काठमाडौं, नुवाकोट, रुपन्देही, दोलखा र बाग्लुङ जिल्लाबाट आएका गरी २३५ जना खेलाडीहरूको सहभागिता रहेको आयोजकले जनाएको छ। प्रतियोगिताले युवा खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै राष्ट्रिय स्तरमा कराते खेलको विकास र विस्तारमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ।
कुमारी युवा क्लब तथा कराते क्लब बालाजुटारको आयोजनामा सम्पन्न भइरहेको उक्त प्रतियोगितामा काठमाडौं महानगरपालिका वडा नं. १६ को विशेष सहयोग रहेको छ। प्रतियोगिताका विभिन्न विधाका खेलहरू उत्साहजनक रूपमा सञ्चालन भइरहेका छन्।

आयोजकका अनुसार प्रतियोगिताको समापन तथा पुरस्कार वितरण कार्यक्रम २०८३ साल जेठ ३० गते सम्पन्न हुनेछ। प्रतियोगिताले खेलकुदमार्फत अनुशासन, आत्मविश्वास र स्वस्थ प्रतिस्पर्धाको भावना अभिवृद्धि गर्दै कराते खेलको प्रवर्द्धनमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ।
