सर्लाही। सर्लाहीको बागमती नगरपालिकामा टोचनको सहायताले तानिँदै गरेको ईभी हाईसले दुई जना महिलालाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अर्की महिला घाइते भएकी छन्।
आइतबार बिहान करिब ६ बजेर १० मिनेटतिर बागमती नगरपालिका–९ स्थित निर्माण चोक नजिकको भित्री सडकमा उक्त दुर्घटना भएको हो। दुर्घटनामा स्थानीय ५५ वर्षीया जयकुमारी देवीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार प्राविधिक समस्या आएर रोकिएको बा.प्र.०३००१ ज ०७७६ नम्बरको ईभी हाईसलाई अटोको सहायताले बरहथवातर्फ तानेर लैजाँदै गर्दा सडकमा हिँडिरहेका दुई महिलालाई ठक्कर लागेको थियो।
दुर्घटनामा बागमती–९ की जयकुमारी देवी र बागमती–१० निवासी ४० वर्षीया पुनमदेवी यादव घाइते भएका थिए। दुवैलाई तत्काल उपचारका लागि अस्पताल पठाइएको थियो। गम्भीर घाइते जयकुमारी देवीलाई थप उपचारका लागि कलैया स्थित प्रादेशिक अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
घाइते पुनमदेवी यादवको कलैयास्थित राजलक्ष्मी अस्पतालमा उपचार भइरहेको छ। उनको स्वास्थ्य अवस्था सामान्यदेखि मध्यम रहेको बताइएको छ।
घटनापछि प्रहरी टोलीले दुर्घटनामा संलग्न ईभी हाईस र अटो दुवैलाई नियन्त्रणमा लिएको छ। साथै ईभी हाईस चालक हरिवन नगरपालिका–७ का ४० वर्षीय देवेन्द्र ठाकुर र अटो चालक बरहथवा नगरपालिका–१३ का ३३ वर्षीय विकासकुमार झालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।