२०८३, कार्तिक १९ गते

Nov 04 2026

भारतीय अवरोधको असरः इलामका चिया उद्योग आजदेखि ठप्प

भारतीय अवरोधको असरः इलामका चिया उद्योग आजदेखि ठप्प

रोज नेपाल
सोमवार, आषाढ १ २०८३
रोज नेपाल
सोमवार, आषाढ १ २०८३
  • काठमाडौं । नेपाली चियाको प्रमुख निर्यात गन्तव्य भारततर्फ निकासी प्रक्रिया जटिल बन्दै गएपछि इलामका चिया उद्योगहरू सोमबारदेखि बन्द भएका छन्। भारतीय पक्षले लागू गरेको नयाँ प्रक्रियाका कारण निर्यात प्रभावित भएपछि उद्योगीहरूले उत्पादन रोक्ने निर्णय गरेका हुन्।

    चिया व्यवसायीहरूका अनुसार विगत करिब डेढ महिनादेखि भारतीय बजारमा नेपाली चिया पठाउने क्रममा विभिन्न प्राविधिक र प्रशासनिक अवरोध सामना गर्नुपरेको छ। यसले उत्पादित चियाको बिक्री प्रभावित भई गोदाममा मौज्दात बढ्दै गएको छ।

    नेपाल चिया उत्पादक संघका वरिष्ठ उपाध्यक्ष शिवकुमार गुप्ताले भारतीय चिया बोर्डले हालै लागू गरेको ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर’ (एसओपी) ले नेपाली चिया निर्यातलाई थप जटिल बनाएको बताए। उनका अनुसार पहाडी क्षेत्रका अर्थोडक्स चिया उद्योगहरू तत्काल प्रभावबाट बन्द गरिएका छन् भने तराई क्षेत्रका सीटीसी चिया उद्योगहरू पनि केही दिनभित्रै बन्द हुने अवस्थामा पुगेका छन्।

    भारतीय भन्सारमा चियाको नमुना परीक्षणका लागि पठाउनुपर्ने र त्यसको प्रतिवेदन आउन लामो समय लाग्ने प्रक्रियाले आयातकर्ताहरू निरुत्साहित बनेको उद्योगीहरूको भनाइ छ। परीक्षण प्रतिवेदनमा सामान्य कमजोरी देखिए पनि चिया फिर्ता वा नष्ट हुन सक्ने जोखिमका कारण भारतीय व्यापारीहरू नेपाली चिया खरिद गर्न अनिच्छुक देखिएका छन्।

    उद्योगीहरूका अनुसार उत्पादन भएको चिया बिक्री हुन नसक्दा उद्योग सञ्चालन खर्च धान्न कठिन भएको छ। यही कारण उत्पादन नै रोक्नुपर्ने अवस्था आएको उनीहरूको तर्क छ।

    नेपालमा उत्पादन हुने चियामध्ये ठूलो हिस्सा भारतीय बजारमा खपत हुँदै आएको छ। इलाम र झापालाई प्रमुख उत्पादन केन्द्र मानिने नेपाली चिया क्षेत्र अहिले निर्यात अवरोधका कारण गम्भीर चुनौतीको सामना गरिरहेको छ।

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij