२०८३, आश्विन १ गते

Sep 17 2026

सडक सुरक्षा बेवास्ता गर्दा दुर्घटना बढ्दै गएको गजुरेलको चिन्ता

सडक सुरक्षा बेवास्ता गर्दा दुर्घटना बढ्दै गएको गजुरेलको चिन्ता

रोज नेपाल
मंगलवार, आषाढ २ २०८३
रोज नेपाल
मंगलवार, आषाढ २ २०८३
  • काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले सडक सुरक्षा र यातायात व्यवस्थापनको विषयमा सरकारको पर्याप्त ध्यान नपुगेको भन्दै चिन्ता व्यक्त गरेका छन्।

    मंगलबार बसेको समितिको बैठकमा बोल्दै गजुरेलले सडक दुर्घटनाबाट हुने मानवीय क्षतिका विषयमा संसद्मा पटक–पटक बहस भइरहे पनि सम्बन्धित निकायले अपेक्षित संवेदनशीलता नदेखाएको बताए। उनले लामो समयदेखि तयारी अवस्थामा रहेको सडक सुरक्षा सम्बन्धी विधेयक अझै संसद्मा दर्ता हुन नसक्नु गम्भीर कमजोरी भएको उल्लेख गरे।

    उनका अनुसार सडक सुरक्षालाई प्रभावकारी बनाउन कानुनी तथा नीतिगत सुधार आवश्यक भए पनि त्यसतर्फ सरकारको गति सन्तोषजनक देखिएको छैन। उनले सडक दुर्घटनाबाट बर्सेनि ठूलो संख्यामा नागरिकले ज्यान गुमाइरहेको अवस्थामा यसलाई उच्च प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरे।

    गजुरेलले यातायात मन्त्रालयको भूमिका केवल पूर्वाधार निर्माण वा ठेक्का व्यवस्थापनमा सीमित हुन नहुने बताए। हवाई, रेल, जल तथा सडक यातायातलाई समेट्ने एकीकृत विकास प्रणालीको अवधारणा कार्यान्वयन गर्न मन्त्रालयले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ थियो।

    उनले ठूलो बजेटको जिम्मेवारी बोकेको मन्त्रालयले यातायात व्यवस्थापन, सुरक्षा र सेवा सुधारमा थप सक्रियता देखाउनुपर्ने आवश्यकता औंल्याए। विकास निर्माणसँगै सुरक्षित र व्यवस्थित यातायात प्रणाली निर्माण गर्न नसके भविष्यमा थप चुनौती सिर्जना हुन सक्ने उनको चेतावनी थियो।

    सभापति गजुरेलले वर्तमान मात्र होइन, आगामी पुस्ताको सुरक्षालाई समेत ध्यानमा राख्दै सडक सुरक्षा र यातायात व्यवस्थापनलाई राष्ट्रिय प्राथमिकताको विषय बनाउनुपर्नेमा जोड दिए।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij