काठमाडौं । कमेडी च्याम्पियन पहिलो सिजनका विजेता हिमेश पन्तले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आसन्न महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिने घोषणा गरेका छन्।
उनले शनिबार सामाजिक सञ्जालमार्फत आफ्नो उम्मेदवारी सार्वजनिक गरेका हुन्।
पन्तले आफूले २०७९ को संघीय निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारी दिएको र २०८२ को निर्वाचन प्रक्रियामा पनि व्यक्तिगत स्वार्थभन्दा माथि उठेर पार्टीका अन्य उम्मेदवारलाई जिताउन सक्रिय भूमिका खेलेको बताएका छन्।
उनका अनुसार आफ्नो उम्मेदवारी पद प्राप्त गर्ने उद्देश्यमा मात्र सीमित नभई पार्टीलाई अझ सुदृढ, व्यवस्थित र जनमुखी बनाउन योगदान दिने लक्ष्यसहित हो। साथै, पार्टीभित्रका कार्यकर्ताको आवाज केन्द्रसम्म पुर्याउने र संगठन निर्माणमा जिम्मेवार भूमिका खेल्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।
उनले आफ्ना काम, योगदान र प्रतिबद्धतालाई मूल्यांकन गर्दै विश्वास र समर्थन दिन पनि आग्रह गरेका छन्।
