सिरहा । सिरहामा प्रहरीले चलाएको विशेष अपरेशनका क्रममा एक भारतीय लागुऔषध कारोबारीलाई गोली प्रहार गरी पक्राउ गरेको छ । पक्राउ पर्ने व्यक्ति भारतको मधुवनी जिल्ला पदमाहा ग्राम पञ्चायत–२ का २८ वर्षीय रञ्जितकुमार पासवान (छोटु) हुन् ।
आइतबार साँझ सिरहा नगरपालिका–२१ लगडीगोठ क्षेत्रमा प्रहरी र कारोबारी समूहबीच झडप भएपछि स्थिति तनावपूर्ण बनेको थियो । इलाका प्रहरी कार्यालय महेशपुर पतार, जिल्ला प्रहरी कार्यालय सिरहा र लागुऔषध नियन्त्रण ब्युरो गोलबजार शाखाको संयुक्त टोलीले विशेष सूचनाका आधारमा अपरेशन सञ्चालन गरेको थियो ।
प्रहरीका अनुसार नियन्त्रणमा लिने क्रममा समूहले ढुंगामुढा गर्दै भारततर्फ भाग्ने प्रयास गरेको थियो । त्यसपछि प्रहरीले एक राउन्ड हवाई फायर गर्नुका साथै एक राउन्ड गोली प्रहार गरेको जनाएको छ । गोली लागेर पासवानको खुट्टाको पिँडुलामा चोट लागेको छ ।
झडपका क्रममा प्रहरी जवान हृदयनारायण ठाकुर समेत ढुंगामुढाबाट घाइते भएका छन् । दुवै घाइतेलाई उपचारका लागि प्रादेशिक अस्पताल सिरहा लगिएको र उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
घटनास्थलबाट भारतका एक नाबालकलाई समेत नियन्त्रणमा लिइएको छ । प्रहरीले उनीहरूको साथबाट ९२ ग्राम ३० मिलिग्राम ब्राउन सुगर बरामद गरेको जानकारी दिएको छ ।
प्रहरी अनुसन्धान अनुसार पक्राउ परेका पासवान सिरहा आसपास क्षेत्रमा सक्रिय लागुऔषध कारोबारी हुन् । प्रारम्भिक अनुसन्धानमा उनले विगतमा करिब ३ करोड रुपैयाँ बराबरको १० देखि १२ किलो ब्राउन सुगर कारोबार गरेको हुनसक्ने आशंका गरिएको छ । साथै, उनले कारोबारमा नाबालकलाई समेत प्रयोग गर्ने गरेको खुलेको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
