जेरुसेलम। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आफू अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा काम गर्ने भन्ने धारणा गलत भएको स्पष्ट पारेका छन्।
जेरुसेलममा आयोजित एक सम्मेलनलाई सम्बोधन गर्दै उनले कतिपयले अमेरिकामा र इजरायलभित्र समेत आफू ट्रम्पको इच्छाअनुसार चल्ने बुझाइ राखेको भए पनि त्यो सत्य नभएको बताए।
नेतान्याहूले भने, “अमेरिकामा केहीले भन्छन् राष्ट्रपति ट्रम्पले जे भन्छन् म त्यही गर्छु भन्ने, र इजरायलमा केहीले सोच्छन् म ट्रम्पले चाहेको अनुसार चल्छु भन्ने। तर दुवै कुरा गलत हुन्।”
उनका अनुसार इजरायल र अमेरिका घनिष्ठ साझेदार राष्ट्र भए पनि दुवै देशका आफ्नै राष्ट्रिय हित र प्राथमिकता छन्, र सबै विषयमा समान दृष्टिकोण नहुन सक्छ।
सुरक्षा र क्षेत्रीय नीतिबारे बोल्दै उनले इजरायलले इरानलाई आणविक हतियार प्राप्त गर्न नदिने आफ्नो अडान दोहोर्याए। साथै, आवश्यक परेसम्म इजरायली सेना दक्षिणी लेबनानमा रहिरहने उनले संकेत गरे।
यसैबीच, अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार स्विट्जरल्याण्डमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्ला टिप्पणीपछि रोकिएको अमेरिका–इरान शान्ति वार्ता पुनः सुरु भएको छ।