काठमाडौँ । देशका विभिन्न क्षेत्रमा मनसुनी प्रणाली सक्रिय रहँदा आज पनि केही स्थानमा वर्षा हुने सम्भावना रहेको छ। मौसमविद्का अनुसार हाल कोशी, मधेस र बागमती प्रदेशका अधिकांश भूभाग तथा गण्डकी र लुम्बिनी प्रदेशका केही क्षेत्रमा मनसुनको प्रभाव देखिएको छ। अन्य क्षेत्रमा भने पश्चिमी तथा स्थानीय वायुको आंशिक असर कायम छ।
हाल कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ। कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रमा पनि बादल लागेको अवस्था छ भने सुदूरपश्चिमको तराई क्षेत्रमा मौसम मुख्यतः सफा रहेको छ।
आज दिउँसो पहाडी तथा हिमाली भूभागमा बादल बढ्ने सम्भावना छ। विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ। यस्तै लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका उच्च भूभागका एक–दुई स्थानमा पनि वर्षाको सम्भावना रहेको छ।
तराई क्षेत्रमा भने कोशी प्रदेशका केही स्थान तथा मधेस, बागमती र गण्डकी प्रदेशका सीमित क्षेत्रमा चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
उता लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थानमा तातो लहरको अवस्था कायम रहने देखिएको छ। बागमती र गण्डकी प्रदेशका तराईका केही जिल्लामा पनि अत्यधिक गर्मी महसुस हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।
रातिको समयमा पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदली कायम रहनेछ। कोशी प्रदेशका केही स्थान तथा बागमती र गण्डकीका थोरै स्थानमा चट्याङसहित वर्षाको सम्भावना रहेको छ। साथै कोशी र मधेस प्रदेशका तराईका केही क्षेत्रमा पनि हल्कादेखि मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ।
