काठमाडौँ । पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई सुर्खेतबाट काठमाडौँतर्फ ल्याइँदै छ। उनलाई सोमबार साँझ वीरेन्द्रनगर नगरपालिका–३ स्थित एक होटलबाट नियन्त्रणमा लिइएको हो।
प्रारम्भिक जानकारीअनुसार उनलाई नेपालगञ्ज हुँदै हवाई मार्गबाट काठमाडौँ पठाउने तयारी भए पनि उडान उपलब्ध नभएपछि सडक मार्गबाट ल्याउने व्यवस्था गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
प्रहरी स्रोतका अनुसार इन्स्पेक्टर श्यामप्रसाद यादवको नेतृत्वमा रहेको टोलीले उनलाई काठमाडौँतर्फ लिएर आइरहेको छ। पौडेल सुर्खेतमा पार्टी कार्यक्रमका लागि गएका बेला नियन्त्रणमा लिइएका हुन्।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्राचारपछि जिल्ला प्रहरी कार्यालय सुर्खेतले उनलाई नियन्त्रणमा लिएको बताइएको छ। अनुसन्धान व्यवसायी दीपक भट्टसँग सम्बन्धित मुद्दासँग जोडिएको विषयमा केन्द्रित रहेको बुझिएको छ।
यसअघि भट्टलाई पनि सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगमा पक्राउ गरी डिल्लीबजार कारागारमा राखिएको थियो।
