काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी महाधिवेशनमा प्रधानमन्त्री बालेन शाहको सचिवालयमा कार्यरत दुई जना व्यक्तिहरू केन्द्रीय सदस्य पदका लागि उम्मेदवार बनेका छन्।
महाधिवेशनअन्तर्गत खुला तर्फको केन्द्रीय सदस्य पदमा प्रधानमन्त्रीका नीति, प्रशासन तथा सुशासन सल्लाहकार इञ्जिनियर सुदीप ढकाल र स्वकीय उप–सचिव प्रकृति ढकालले उम्मेदवारी दिएका हुन्।
पाल्पा स्थायी ठेगाना भएका सुदीप ढकाल यसअघि समानुपातिकतर्फ खस आर्य क्लस्टरबाट दोस्रो स्थानमा परे पनि सांसद बन्ने अवसरबाट वञ्चित भएका थिए।
त्यस्तै, लन्डन स्कुल अफ इकोनोमिक्सबाट स्नातकोत्तर गरेकी प्रकृति ढकाल चितवन निवासी हुन्। उनी पनि यस पटक पार्टीको केन्द्रीय संरचनामा स्थान बनाउने प्रयासमा छन्।
चितवनमा जारी महाधिवेशनमा आजदेखि बन्द सत्र सुरु हुने तयारी छ। यसअघि प्रतिनिधि व्यवस्थापन सम्बन्धी विवादका कारण बन्द सत्र सुरु हुन ढिलाइ भएको थियो।
महाधिवेशनमार्फत रास्वपाले नयाँ नेतृत्व चयन तथा संगठनात्मक संरचना सुदृढ गर्ने तयारी गरेको छ।