काठमाडौँ । देशका विभिन्न क्षेत्रमा मनसुनी प्रणाली विस्तार हुने क्रम जारी रहेसँगै आज पनि वर्षा हुने सम्भावना रहेको छ। मौसमविद्का अनुसार हाल कोशी, मधेस र बागमती प्रदेशका अधिकांश भाग तथा गण्डकी र लुम्बिनी प्रदेशका केही क्षेत्रमा मनसुनको प्रभाव देखिएको छ भने अन्य भूभागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव कायम छ।
हाल हिमाली तथा पहाडी क्षेत्रहरूमा सामान्यदेखि आंशिक बदली रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको छ भने तराईका अधिकांश क्षेत्रमा आंशिक बदलीको अवस्था छ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ। यस्तै लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा पनि वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
तराई क्षेत्रतर्फ कोशी प्रदेशका केही स्थान तथा मधेस, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा चट्याङसहित वर्षा हुन सक्ने सम्भावना छ। यसैबीच लुम्बिनी र सुदूरपश्चिमका केही तराई क्षेत्रमा तातो हावाको प्रभाव रहने तथा बागमती र गण्डकीका केही तराई क्षेत्रमा पनि अत्यधिक गर्मी महसुस हुन सक्ने जनाइएको छ।
रातिको समयमा पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा बदली कायम रहनेछ। ती क्षेत्रका केही स्थानमा चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ। कोशी प्रदेशका तराई क्षेत्र तथा मधेस प्रदेशका केही स्थानमा पनि वर्षा हुन सक्ने मौसमविद्को अनुमान छ।
मौसमविद्हरूले चट्याङ र वर्षाको सम्भावना रहेका क्षेत्रमा आवश्यक सतर्कता अपनाउन तथा गर्मी प्रभावित क्षेत्रका नागरिकलाई पर्याप्त पानी पिउन र सावधानी अपनाउन आग्रह गरेका छन्।