काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले देशमा व्यवसायिक गतिविधि विस्तार गर्दै गर्दा मानव अधिकारको संरक्षणलाई समानान्तर रूपमा अघि बढाउनुपर्ने बताएका छन्।
बुधबार आयोजित ‘व्यवसाय र मानव अधिकारसम्बन्धी राष्ट्रिय संवाद’ कार्यक्रममा बोल्दै अध्यक्ष मगरले व्यवसाय सञ्चालन गर्ने अधिकार सुनिश्चित भए पनि त्यसले नागरिकको मौलिक अधिकारमा कुनै पनि प्रकारको हनन गर्न नहुने स्पष्ट पारे।
उनका अनुसार मानव अधिकारको संरक्षण र प्रवर्द्धन गर्ने मुख्य दायित्व सरकारको हो। उनले भने, “व्यवसाय सञ्चालन गर्न पाउनु स्वाभाविक अधिकार हो, तर त्यस क्रममा मानव अधिकार उल्लंघन हुन दिनु हुँदैन। यदि अधिकार हनन भएमा प्रभावकारी न्याय र उपचारको व्यवस्था अनिवार्य छ।”
अध्यक्ष मगरले विकास, व्यवसाय र मानव अधिकारबीच सन्तुलन कायम गर्नु आजको आवश्यकता भएको उल्लेख गरे। साथै, उनले आदिवासी जनजाति समुदायका अधिकारलाई पनि समान रूपमा सम्मान गर्नुपर्नेमा जोड दिए।
उनले भने, “आदिवासी जनजातिको अधिकार पनि सुरक्षित रहनुपर्छ, विकास पनि अघि बढ्नुपर्छ। व्यवसायले काम गर्ने वातावरण पाउनुपर्छ, तर संविधानले दिएको अधिकारको सम्मान अनिवार्य छ।”
कार्यक्रममा उनले विकास निर्माण तथा पूर्वाधार आयोजनाका कारण प्रभावित समुदायबाट आयोगमा निरन्तर उजुरी आउने गरेको जानकारी पनि दिए। कतिपय स्थानमा स्थानीय बासिन्दाको परम्परागत अधिकार, भोगाधिकार र सांस्कृतिक अभ्यासमा असर परेको गुनासो बढिरहेको उनले बताए।
त्यस्तै, विद्युत् पूर्वाधारको लापरबाहीका कारण नागरिकको ज्यान गएको घटनाप्रति चिन्ता व्यक्त गर्दै उनले सम्बन्धित निकायको जवाफदेहिता आवश्यक रहेको उल्लेख गरे। कालीकोट र महोत्तरीका घटनालाई उदाहरणका रूपमा प्रस्तुत गर्दै उनले यस्ता दुर्घटनाको कारण पहिचान गरी रोकथाममा ध्यान दिनुपर्नेमा जोड दिए।
उनले व्यवसाय र मानव अधिकारबीच सन्तुलन कसरी कायम गर्न सकिन्छ भन्ने विषयमा संवादबाट ठोस निष्कर्ष निस्कने विश्वास व्यक्त गर्दै कार्यक्रमले मानव अधिकारमैत्री विकास र उत्तरदायी व्यवसाय प्रवर्द्धनमा योगदान पुर्याउने अपेक्षा गरे।