काठमाडौँ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापन तथा अद्यावधिक प्रक्रियालाई व्यवस्थित बनाउन नयाँ कार्यतालिका सार्वजनिक गरेको छ।
पार्टी केन्द्रीय कार्यालय सानेपाले जारी गरेको जानकारी अनुसार सदस्यता सम्बन्धी सबै काम आगामी असार २० गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। यस कार्यतालिकाले सदस्यता अद्यावधिक, नवीकरण तथा नयाँ वितरण प्रक्रियालाई समयमै टुंग्याउने उद्देश्य राखेको छ।
नयाँ तालिकाअनुसार जेठ २८ गतेपछि क्रियाशील सदस्यता अद्यावधिक गर्न छुटेका सदस्यहरूले स्वयं आफ्नो विवरण अद्यावधिक गर्न सक्ने व्यवस्था गरिएको छ। त्यस्तै, नवीकरण नभएका सदस्यताको नवीकरण, नयाँ क्रियाशील सदस्यता वितरण तथा १४औँ महाधिवेशनका क्रममा स्थगन भएका सदस्यताको व्यवस्थापनसम्बन्धी काम पनि सोही अवधिभित्र पूरा गरिने कांग्रेसले जनाएको छ।
पार्टीले सदस्यता प्रक्रियालाई पारदर्शी र व्यवस्थित बनाउँदै आगामी आन्तरिक राजनीतिक गतिविधि तथा महाधिवेशन तयारीलाई सहज बनाउने अपेक्षा गरेको छ।
