काठमाडौं । देशका विभिन्न भागमा मनसुनी प्रणालीको प्रभाव कायम रहँदा आज पहाडी तथा हिमाली क्षेत्रमा वर्षाको सम्भावना रहेको छ भने तराईका केही जिल्लामा गर्मी बढ्ने संकेत देखिएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेश र बागमती प्रदेशका अधिकांश भू–भागमा मनसुनी वायु सक्रिय छ। गण्डकी प्रदेशका केही स्थान तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रमा पनि मनसुनको प्रभाव देखिएको छ। अन्य क्षेत्रमा भने पश्चिमी तथा स्थानीय वायुको आंशिक असर रहेको छ।
देशका अधिकांश हिमाली र पहाडी क्षेत्रमा बादल लाग्ने अनुमान गरिएको छ। दिउँसो पहाड तथा हिमालका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपातसमेत हुन सक्ने मौसमविद्ले बताएका छन्।
कोशी प्रदेशको तराईका केही स्थान तथा मधेश, बागमती र गण्डकी प्रदेशका तराईका एक–दुई स्थानमा पनि मेघगर्जनसहित वर्षा हुन सक्ने अनुमान गरिएको छ। यद्यपि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका अधिकांश तराई क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ।
यसैबीच लुम्बिनी र सुदूरपश्चिमका तराईका केही क्षेत्रमा तातो लहरको प्रभाव देखिन सक्ने महाशाखाले जनाएको छ। बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा पनि अत्यधिक गर्मी महसुस हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।
रातिको समयमा पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा बादल रहने र केही स्थानमा मेघगर्जनसहित वर्षा हुने सम्भावना रहेको छ। तराईका अधिकांश क्षेत्रमा भने मौसम सामान्यतया सफा रहने पूर्वानुमान गरिएको छ।
मौसमविद्हरूले वर्षा र चट्याङको सम्भावना रहेका क्षेत्रमा सावधानी अपनाउन तथा अत्यधिक गर्मी हुने क्षेत्रका नागरिकलाई पर्याप्त पानी पिउन र आवश्यक सुरक्षा उपाय अवलम्बन गर्न सुझाव दिएका छन्।
