चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि विद्युतीय मतदान प्रक्रिया जारी रहेको छ। पार्टीको नयाँ नेतृत्व संरचना निर्माणका लागि प्रतिनिधिहरूले मतदान गरिरहेका छन्।
निर्वाचन कार्यतालिकाअनुसार गएराति साढे १२ बजेदेखि सुरु भएको मतदान आज बिहान ११ बजेसम्म सञ्चालन हुने व्यवस्था गरिएको छ। निर्वाचन आयोगका अनुसार केन्द्रीय समितिमा निर्वाचित हुने ९९ सदस्यका लागि ठूलो प्रतिस्पर्धा देखिएको छ।
रास्वपाको केन्द्रीय समिति १५८ सदस्यीय रहने व्यवस्था भए पनि पहिलो चरणमा ९९ जना निर्वाचनमार्फत चयन हुनेछन्। उक्त पदका लागि ३८४ जना आकांक्षी चुनावी मैदानमा छन् भने बाँकी सदस्यहरू पार्टी विधानअनुसार पछि मनोनयन गरिने व्यवस्था रहेको छ।
यसअघि पार्टी सभापति पदमा निर्विरोध निर्वाचित भइसकेका छन्। अब केन्द्रीय सदस्यहरूको अन्तिम नतिजा सार्वजनिक भएपछि दोस्रो चरणमा उपसभापति, महामन्त्रीसहित आठ पदाधिकारी चयनका लागि मतदान हुने जनाइएको छ।
मतदान प्रक्रिया निर्धारित समयभन्दा ढिलो भएपछि केही प्रतिनिधिहरूले असन्तुष्टि जनाउँदै नाराबाजी गरेका थिए। त्यसपछि कार्यक्रमस्थलको सुरक्षा व्यवस्थालाई थप मजबुत बनाइएको थियो।
रास्वपाको पहिलो महाधिवेशनलाई पार्टीको संगठनात्मक संरचना निर्माण र आगामी राजनीतिक दिशानिर्देशनका लागि महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।
