काठमाडौं । अमेरिका र इरानले तत्कालका लागि एकअर्काविरुद्धका सैन्य आक्रमण रोक्ने सहमति गर्दै मध्यपूर्वमा बढ्दो तनावलाई संवादमार्फत समाधान गर्ने प्रयासलाई निरन्तरता दिने भएका छन्।
अमेरिकी अधिकारीका अनुसार दुवै देशले हालका लागि सैन्य गतिविधि स्थगित गर्ने समझदारी गरेका छन्। यससँगै हर्मुज जलडमरु हुँदै हुने अन्तर्राष्ट्रिय जल यातायातलाई सुरक्षित र निर्बाध बनाउने विषयमा पनि सहमति कायम भएको बताइएको छ।
यसअघि भएको समझदारीअनुसार इरानले व्यावसायिक जहाजहरूको सुरक्षित आवागमन सुनिश्चित गर्ने प्रतिबद्धता जनाएको थियो भने अमेरिकाले इरानी बन्दरगाहमाथि लगाइएका केही प्रतिबन्ध हटाउने सहमति गरेको थियो। यी विषयमा प्राविधिक तहमा छलफल भने निरन्तर जारी रहने अमेरिकी पक्षले जनाएको छ।
अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार दुवै देशबीचको अर्को चरणको वार्ता मंगलबार कतारको दोहामा हुने सम्भावना छ। वार्तामा युद्धविरामलाई प्रभावकारी बनाउने र क्षेत्रीय स्थायित्वका विषयमा थप छलफल हुने अपेक्षा गरिएको छ।
यद्यपि, पछिल्ला दिनहरूमा दुवै पक्षले एकअर्कामाथि युद्धविराम उल्लङ्घन गरेको आरोप लगाउँदै सीमित सैन्य कारबाही गरेका थिए। अमेरिकी सेनाले इरानका केही सैन्य लक्ष्यमा आक्रमण गरेको दाबी गरेको छ भने इरानले पनि कुवेत र बहराइनस्थित अमेरिकी सैन्य अड्डालाई निशाना बनाएको जनाएको छ।
यसबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले इरानबाट फेरि आक्रमण भए अमेरिकाले कडा सैन्य जवाफ दिन सक्ने चेतावनी दोहोर्याएका छन्। त्यसका बाबजुद दुवै पक्ष वार्तामार्फत दीर्घकालीन समाधान खोज्ने प्रयासमा रहेको जनाइएको छ।
