जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौँडामा एक सुरक्षागार्डमाथि धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको आरोपमा फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको जनाएको छ।
प्रहरीका अनुसार हेटौँडा उपमहानगरपालिका–१० स्थित रानीमहल क्षेत्रमा रहेको जय गणेश वर्कसपमा सुरक्षागार्डका रूपमा कार्यरत नुवाकोटको सूर्यगढी गाउँपालिका–१ निवासी ३२ वर्षीय रोहित तामाङमाथि मंगलबार राति करिब ११:५५ बजे आक्रमण भएको थियो।
प्रारम्भिक अनुसन्धानका क्रममा हेटौँडा–५ निवासी ३३ वर्षीय सविन नेपालीले तामाङमाथि कुटपिट गर्नुका साथै धारिलो हतियार प्रयोग गरी शरीरका विभिन्न भागमा प्रहार गरेको प्रहरीको भनाइ छ। घटनामा तामाङ गम्भीर घाइते भएका छन्।
घटनापछि फरार भएका नेपालीको खोजीका लागि वडा प्रहरी कार्यालय हेटौँडाबाट खटिएको टोलीले तत्काल खोज अभियान सञ्चालन गरेको थियो। प्राप्त सूचनाका आधारमा बुधबार बिहान करिब २ बजे उनलाई आफ्नै घरमा लुकेर बसेको अवस्थामा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। पक्राउका क्रममा घटनामा प्रयोग भएको धारिलो हतियार पनि बरामद गरिएको बताइएको छ।
प्रहरीले पक्राउ परेका नेपालीविरुद्ध ज्यान मार्ने उद्योग सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको छ। यसका लागि मकवानपुर जिल्ला अदालतबाट आठ दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।