काठमाडौं । इन्धनको मूल्य घटेसँगै त्यसको प्रत्यक्ष लाभ उपभोक्ताले पनि महसुस गर्न सक्ने गरी दैनिक उपभोगका वस्तु तथा सेवाको मूल्य समायोजन गर्न सरकारले व्यवसायीलाई आग्रह गरेको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्देशनपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले शुक्रबार विज्ञप्ति जारी गर्दै इन्धनको मूल्य घटेको असर बजारमा पनि देखिनुपर्ने जनाएको हो।
विभागका अनुसार मध्यपूर्व क्षेत्रमा देखिएको तनावका कारण केही समय बढेको इन्धनको मूल्य सामान्य अवस्थामा फर्किएपछि नेपाल आयल निगमले असार १६ गतेदेखि लागू हुने गरी नयाँ मूल्य कायम गरेको थियो। त्यसको सकारात्मक प्रभाव वस्तु तथा सेवाको मूल्यमा पनि पर्नुपर्ने विभागको भनाइ छ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरिकुमारी यादवले इन्धनको मूल्य घट्दा त्यसबाट प्राप्त हुने सुविधा आम उपभोक्तासम्म पुग्ने वातावरण बनाउन निर्देशन दिएकी छन्। साथै कृत्रिम मूल्यवृद्धि नियन्त्रण गर्दै अत्यावश्यक वस्तु तथा सेवा सहज र उचित मूल्यमा उपलब्ध गराउन सम्बन्धित निकायलाई सक्रिय हुन आग्रह गरिएको छ।
विभागले खाद्यान्नदेखि अन्य उपभोग्य वस्तु, ढुवानी सेवा तथा विभिन्न सेवा क्षेत्रका व्यवसायीलाई लागत घटेको अवस्थामा मूल्य पुनरावलोकन गर्न अनुरोध गरेको छ।
उपभोक्ता संरक्षण ऐन, २०७५ ले उपभोक्ताको हित संरक्षणलाई सबै सरोकारवालाको साझा जिम्मेवारी मानेकाले बजारमा पारदर्शी र जिम्मेवार कारोबार गर्न विभागले सबै पक्षसँग अपिल गरेको छ।