दाङ । लुम्बिनी प्रदेशसभाको आठौं अधिवेशनअन्तर्गत सोमबार बस्ने बैठकमा आर्थिक वर्ष २०८३/८४ को विनियोजन विधेयकअन्तर्गत चार मन्त्रालयको बजेटमाथि समूहगत छलफल हुने भएको छ।
प्रदेशसभा सचिवालयका अनुसार बिहान ८ बजेदेखि सुरु हुने बैठकका लागि सभामुखले तीन घण्टाको समय छुट्याएका छन्। बैठकमा विभिन्न मन्त्रालयले प्रस्ताव गरेका बजेट तथा कार्यक्रमबारे सांसदहरूले आफ्नो धारणा राख्ने कार्यसूची तय गरिएको छ।
आजको छलफलमा आर्थिक मामिला तथा योजना मन्त्रालय, शहरी विकास तथा खानेपानी मन्त्रालय, वन तथा वातावरण मन्त्रालय तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयसँग सम्बन्धित बजेट शीर्षक र वार्षिक कार्यक्रम केन्द्रमा रहनेछन्।
छलफलका क्रममा प्रदेशसभा सदस्यहरूले बजेटको प्राथमिकता, विकास योजना, स्रोत–साधनको विनियोजन तथा कार्यक्रम कार्यान्वयनका सम्भावित प्रभावबारे आफ्नो धारणा र सुझाव प्रस्तुत गर्नेछन्।
चालु अधिवेशनअन्तर्गत प्रदेश सरकारले प्रस्तुत गरेको बजेटमाथि मन्त्रालयगत रूपमा भइरहेको छलफललाई आगामी बजेट पारित प्रक्रियाको महत्वपूर्ण चरणका रूपमा हेरिएको छ।
