काठमाडौं। लोकगायक रामकुमार कार्की र चर्चित गायिका देवी घर्ती मगरको स्वरमा रहेको नयाँ लोकदोहोरी गीत ‘डुब्नै लाग्या घामको’ सार्वजनिक भएको छ। गीत हालै रामकुमार कार्कीको आधिकारिक युट्युब च्यानलमार्फत दर्शक–श्रोतामाझ ल्याइएको हो।
गीतका शब्द तथा संगीत रामकुमार कार्की स्वयंले तयार पारेका छन्। भिडियोमा जगेन्द्र बस्नेत, सर्मिला पौडेल, केशवबहादुर कार्की, निरबहादुर घिमिरे (पूर्ण), ईश्वरी कुमारी कार्की र मित्रा देवी कार्कीको अभिनय देख्न सकिन्छ। सार्वजनिक भिडियोमा ग्रामीण परिवेश, पारिवारिक सम्बन्ध र भावनात्मक उतारचढावलाई केन्द्रमा राखेर कथा प्रस्तुत गरिएको छ।
लोकदोहोरी शैलीमा तयार पारिएको यस गीतमा माया, विश्वास, सम्बन्ध र जीवनका यथार्थ पक्षलाई संगीतमार्फत अभिव्यक्त गर्ने प्रयास गरिएको छ। सरल शब्द, मौलिक लय र कलाकारहरूको स्वाभाविक अभिनयका कारण गीतले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाउन थालेको छ।
देवी घर्ती मगर नेपाली लोकसंगीत क्षेत्रमा स्थापित गायिकाका रूपमा परिचित रहँदै आएकी छन् भने रामकुमार कार्कीले पनि पछिल्ला वर्षहरूमा मौलिक लोकगीतमार्फत आफ्नो अलग पहिचान बनाउँदै आएका छन्। ‘डुब्नै लाग्या घामको’ उनीहरूको नयाँ सहकार्यका रूपमा सार्वजनिक भएको हो।
सार्वजनिक भएको केही समयमै गीतले युट्युबमा हजारौं दर्शकको ध्यान आकर्षित गर्न सफल भएको छ। लोकसंगीतप्रेमीहरूले गीतको कथा, शब्द, संगीत र अभिनयको प्रशंसा गर्दै सामाजिक सञ्जालमा समेत सकारात्मक प्रतिक्रिया जनाइरहेका छन्।
