काठमाडौं। श्रम संस्कृति पार्टीले प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिप्रति आफ्नो असहमति दोहोर्याउँदै उक्त भनाइ तत्काल सच्याउन सरकारसँग माग गरेको छ।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै पार्टीका सांसद पूर्णप्रसाद लिम्बुले जेठ १७ गते प्रधानमन्त्रीले दिएको सीमा सम्बन्धी अभिव्यक्ति राष्ट्रिय संवेदनशीलतासँग जोडिएको विषय भएकाले त्यसलाई यथाशीघ्र सच्याउनुपर्ने पार्टीको अडान यथावत रहेको बताए।
उनले संसद्मार्फत प्रधानमन्त्रीलाई आफ्नो अभिव्यक्ति पुनर्विचार गरी आवश्यक सुधार गर्न आग्रह गर्दै सीमा सम्बन्धी विषयमा सरकारबाट स्पष्ट र जिम्मेवार धारणा आउनुपर्ने आवश्यकता औँल्याए।
श्रम संस्कृति पार्टीले यसअघि पनि प्रधानमन्त्रीको उक्त अभिव्यक्तिप्रति असन्तुष्टि व्यक्त गर्दै आएको थियो। प्रतिनिधिसभामा पुनः धारणा राख्दै पार्टीले सीमा जस्तो राष्ट्रिय महत्वको विषयमा सरकार थप जिम्मेवार बन्नुपर्नेमा जोड दिएको छ।
