काठमाडौं । आत्मदाहको प्रयासपछि गम्भीर अवस्थामा उपचाररत रहेका २५ वर्षीय गणेश नेपालीको उपचारकै क्रममा शुक्रबार वीर अस्पतालमा निधन भएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दिलीप घिमिरेका अनुसार सघन उपचारका बाबजुद उनको स्वास्थ्य अवस्था निरन्तर जटिल बन्दै गएपछि मृत्यु भएको हो।
निधनअघि वीर अस्पतालले पत्रकार सम्मेलन गरी गणेश नेपालीको अवस्था अत्यन्तै नाजुक रहेको जानकारी दिएको थियो। चिकित्सकहरूले उनको शरीरले उपचारमा अपेक्षित प्रतिक्रिया नदेखाएको र जुनसुकै बेला थप जटिलता उत्पन्न हुन सक्ने बताएका थिए।
अस्पतालका अनुसार उनको शरीरको करिब ५५ प्रतिशत भाग आगोले जलेको थियो। विशेषगरी अनुहार तथा श्वासप्रश्वास प्रणालीमा गम्भीर असर पुगेकाले उपचार निकै चुनौतीपूर्ण बनेको चिकित्सकहरूको भनाइ थियो।
उनीलाई वीर अस्पतालको बर्न आइसियुमा भेन्टिलेटरको सहायतामा राखेर उपचार भइरहेको भए पनि अन्ततः चिकित्सकीय प्रयास सफल हुन सकेन।
