काठमाडौं । नेपाली बजारमा साताको अन्तिम कारोबार दिन शुक्रबार सुन तथा चाँदी दुवैको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। अन्तर्राष्ट्रिय बजारको प्रभावसँगै स्थानीय बजारमा पनि बहुमूल्य धातुको भाउ उकालो लागेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्यसूचीअनुसार छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २ हजार ७ सय रुपैयाँले वृद्धि भई २ लाख ८७ हजार ४ सय रुपैयाँ पुगेको छ। बिहीबार यही सुन प्रतितोला २ लाख ८४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार शुक्रबार चाँदी प्रतितोला १७० रुपैयाँले महँगिएर ४ हजार ५१० रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबार दिन यसको मूल्य प्रतितोला ४ हजार ३४० रुपैयाँ रहेको थियो।
बजार विश्लेषकहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा देखिएको मूल्य परिवर्तन, अमेरिकी डलरको उतारचढाव तथा लगानीकर्ताको मागका कारण स्थानीय बजारमा पनि सुन–चाँदीको मूल्यमा प्रभाव परेको हो।