काठमाडौं। मध्यपूर्वमा अमेरिका र इरानबीचको तनाव फेरि तीव्र बन्दै गएको छ। इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स (IRGC) ले विश्व ऊर्जा तथा व्यापारका लागि अत्यन्त महत्वपूर्ण मानिने हर्मुज जलमार्ग आफ्नो नियन्त्रणमा रहने भन्दै पूर्वअनुमतिबिना कुनै पनि सैन्य वा व्यावसायिक जहाजलाई आवतजावत नगर्न चेतावनी दिएको जनाएको छ।
यस घटनाक्रमसँगै युद्धविराम समाप्त भएको दाबीबीच अमेरिकाले इरानका केही सैन्य लक्ष्यमाथि नयाँ हवाई आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। अमेरिकी सेन्ट्रल कमाण्डका अनुसार हर्मुज क्षेत्रमा साइप्रसको झण्डा बोकेको एक मालवाहक जहाजमाथि आक्रमण भएपछि अमेरिकाले उक्त सैन्य कारबाही अघि बढाएको हो।
यता, इरानका नयाँ सर्वोच्च नेता मुजतबा खामेनेईले आफ्ना पिता आयातुल्लाह अली खामेनेईको अन्त्येष्टिपछि पहिलो सार्वजनिक सन्देश जारी गर्दै आफ्नो देशमाथि भएका आक्रमणको जवाफ दिने बताएका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनले पिताको हत्याको प्रतिशोध लिने प्रतिबद्धता व्यक्त गरेका छन्।
तनाव अझ बढ्दै जाँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि कडा चेतावनी दिएका छन्। उनले आफ्नो सामाजिक सञ्जालमार्फत इरानबाट आफू वा अमेरिकामाथि कुनै आक्रमणको प्रयास भए त्यसको कठोर सैन्य जवाफ दिइने बताएका छन्।
अमेरिका–इरानबीच बढ्दो टकरावले मध्यपूर्वको सुरक्षा अवस्था, अन्तर्राष्ट्रिय व्यापार तथा विश्व ऊर्जा आपूर्तिमा थप असर पर्न सक्ने भन्दै विश्व समुदायले घटनाक्रमलाई नजिकबाट नियालिरहेको छ।
