२०८३, आश्विन १ गते

Sep 17 2026

‘प्रधानमन्त्रीजी, सुकुमवासीसँग गरेको वाचा खोई?’ : आङ्देम्बे

‘प्रधानमन्त्रीजी, सुकुमवासीसँग गरेको वाचा खोई?’ : आङ्देम्बे

रोज नेपाल
आइतवार, आषाढ २८ २०८३
रोज नेपाल
आइतवार, आषाढ २८ २०८३
  • काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुकुमवासी बस्तीबाट हटाइएका नागरिकलाई सरकारले अझ भयावह जोखिममा धकेलेको आरोप लगाउँदै गम्भीर आपत्ति जनाएका छन्।

    आइतबार बिहान सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले सुकुमवासीहरूको सुरक्षित व्यवस्थापन गर्ने भनेर प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले विगतमा गरेको सार्वजनिक प्रतिबद्धतामाथि गम्भीर प्रश्न उठाएका हुन्।

    नेता आङ्देम्बेले ज्यान जोखिममा रहेका नागरिकका लागि सुरक्षित तथा व्यवस्थित स्थानान्तरणको व्यवस्था गरिनेछ भनी प्रधानमन्त्री बालेनले गरेको पुरानो वाचा आज कहाँ हरायो भन्दै आक्रोश व्यक्त गरेका छन्।

    कीर्तिपुरस्थित होल्डिङ सेन्टर नै डुबानमा परेपछि सरकारले ती नागरिकलाई जोखिमबाट मुक्त गरेको नभई एउटा संकटबाट निकालेर अर्को अझ भयावह संकटमा धकेलेको यथार्थ उजागर भएको उनले उल्लेख गरे।

    सुरक्षित आश्रयको आश्वासन पाएका सुकुमवासी नागरिकहरू आज फेरि भोक, पानी, हिलो, चरम अभाव र असुरक्षाबिच पीडादायी जीवन बिताउन बाध्य भएको भन्दै आङ्देम्बेले यसलाई राज्यको गैरजिम्मेवारी, संवेदनहीनता र असफल शासनको ज्वलन्त उदाहरणका रूपमा व्याख्या गरेका छन्।

    यसका साथै नेता आङ्देम्बेले सरकारले नागरिकको प्रश्न उठाउने अधिकारसमेत निषेध गर्न खोजेको भन्दै कडा आपत्ति जनाएका छन्।

    डुबानमा परेको होल्डिङ सेन्टरमा पुगेर पीडितहरूको अवस्था बुझ्न र सरकारसँग जवाफ माग्न खोज्ने युवा नेता माजिद अन्सारीसहितका व्यक्तिहरूलाई प्रहरीले बलपूर्वक नियन्त्रणमा लिएको घटनाप्रति दुःख व्यक्त गर्दै उनले लोकतान्त्रिक व्यवस्थामा प्रश्न सोध्नु कहिलेदेखि अपराध बन्यो भनी सरकारलाई प्रश्न गरेका छन्।

    प्रधानमन्त्री बालेनले आफ्नै प्रतिबद्धता पूरा गर्न नसकेपछि आत्मसमीक्षा गर्नुको सट्टा प्रश्न गर्ने नागरिक र युवाहरूमाथि दमन गर्नु लोकतन्त्र, अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारमाथिको नाङ्गो आक्रमण भएको टिप्पणी उनले गरेका छन्।

    इतिहासले खोक्रा भाषणको नभई नागरिकसँग गरिएका प्रतिबद्धता पूरा भए कि भएनन् भन्ने कुराको हिसाब राख्ने भन्दै आङ्देम्बेले प्रधानमन्त्री बालेनलाई सुकुमवासी नागरिकसँग गरेको वाचाको तत्काल जवाफ दिन र उनीहरूको उचित व्यवस्थापन गर्न माग गरेका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij