२०८३, आश्विन १ गते

Sep 17 2026

राजनीतिक पहुँचका आधारमा नियुक्त ४९ कर्मचारी समाज कल्याण परिषदबाट बर्खास्त

राजनीतिक पहुँचका आधारमा नियुक्त ४९ कर्मचारी समाज कल्याण परिषदबाट बर्खास्त

रोज नेपाल
सोमवार, आषाढ २९ २०८३
रोज नेपाल
सोमवार, आषाढ २९ २०८३
  • काठमाडौं । समाज कल्याण परिषदले उच्च वेतनमानमा कार्यरत ४९ जना कर्मचारीलाई सेवाबाट बर्खास्त गरेको छ। परिषदका अनुसार ती कर्मचारीहरू खुला तथा प्रतिस्पर्धात्मक प्रक्रियाबिना नियुक्त गरिएको निष्कर्षका आधारमा सेवा समाप्त गरिएको हो।

    बर्खास्तीमा परेकामध्ये राष्ट्रपति रामचन्द्र पौडेलका भाञ्जीहरू दीक्षा आचार्य र सरला पोखरेल, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजा विक्रमबहादुर देउवा तथा नेकपा (एमाले), नेपाली कांग्रेस र तत्कालीन नेकपा (माओवादी)का नेताहरूको दबाब वा राजनीतिक पहुँचका आधारमा नियुक्ति पाएका भनिएका अन्य कर्मचारी पनि रहेको स्रोतले जनाएको छ।

    परिषद स्रोतका अनुसार विगतमा सार्वजनिक सूचना, खुला प्रतिस्पर्धा र योग्यता मूल्यांकनको स्थापित प्रक्रिया पालना नगरी उच्च तहका पदहरूमा नियुक्ति गरिएको भन्दै लामो समयदेखि प्रश्न उठ्दै आएको थियो। पछिल्लो निर्णयलाई परिषदभित्र संस्थागत सुशासन, पारदर्शिता र कानुनी प्रक्रियाको कार्यान्वयनतर्फको कदमका रूपमा हेरिएको छ।

    सार्वजनिक निकायमा हुने नियुक्ति खुला प्रतिस्पर्धा, योग्यता, समावेशिता र विधिसम्मत प्रक्रियाबाट हुनुपर्ने कानुनी व्यवस्था रहे पनि राजनीतिक पहुँच र शक्तिको प्रभावमा नियुक्ति हुने प्रवृत्तिमाथि बारम्बार आलोचना हुँदै आएको छ। परिषदको पछिल्लो निर्णयले यस्ता विवादास्पद नियुक्तिमाथि पुनः बहस सुरु गराएको छ।

    यद्यपि बर्खास्त गरिएका कर्मचारी वा उनीहरूसँग सम्बन्धित पक्षबाट यस विषयमा औपचारिक प्रतिक्रिया सार्वजनिक भएको छैन। उनीहरूले निर्णयविरुद्ध कानुनी उपचार खोज्ने सम्भावना पनि रहेको बताइन्छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij