काठमाडौँ। प्रतिनिधि सभाको बैठक सुरु हुनेबित्तिकै प्रतिपक्षी सांसदहरूले आसनबाट उठेर विरोध जनाएका छन्। त्यसपछि सभामुख डोलप्रसाद अर्यालले बोल्ने अवसर दिएपछि सांसदहरूले सुकुम्वासी समस्या, नागरिक अधिकार, सीमा सम्बन्धी अभिव्यक्ति तथा पछिल्लो आत्मदाह घटनालगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन्।
सांसद गणेशसिंह ठगुन्नाले वर्षौंदेखि समाधानको प्रतीक्षामा रहेका सुकुम्वासीका समस्या अब थप लम्बिन नहुने धारणा राख्दै तत्काल प्रभावकारी व्यवस्थापन गर्न सरकारलाई आग्रह गरे। उनले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले केही समयअघि संसद्मा सीमा सम्बन्धमा दिएको अभिव्यक्ति संसदीय अभिलेखबाट हटाइनुपर्ने मागसमेत गरे।
सांसद रमेशकुमार मल्लले केही दिनअघि आत्मदाह गरेका गणेश नेपालीप्रति महानगरीय प्रहरीले देखाएको व्यवहारप्रति गम्भीर असन्तुष्टि व्यक्त गरे। उनले यस्ता दुःखद् घटना भविष्यमा दोहोरिन नदिन सरकार तथा सम्बन्धित निकायले संवेदनशील र जिम्मेवार ढंगले काम गर्नुपर्ने आवश्यकता औँल्याए।
त्यसैगरी सांसद आरेन राईले सीमा विवादसम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति अनुपयुक्त रहेको टिप्पणी गर्दै सरकारको ध्यान श्रमिक, गरिब तथा सुकुम्वासी नागरिकका वास्तविक समस्यातर्फ केन्द्रित हुनुपर्ने बताए।
सांसद ज्ञानबहादुर शाहीले नागरिकको बाँच्न पाउने मौलिक अधिकारको संरक्षण राज्यको पहिलो दायित्व भएको उल्लेख गर्दै गणेश नेपालीको आत्मदाह घटनामा देखिएको अमानवीय व्यवहारप्रति छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न माग गरे।
सांसद निष्कल राईले लोकतन्त्रको मूल आधार नै उत्तरदायित्व र प्रश्न गर्ने अधिकार भएको उल्लेख गर्दै नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथि कुनै पनि प्रकारको अंकुश लगाउन नहुने बताए। उनले एक नागरिक आत्मदाह गर्न बाध्य हुने अवस्थासम्म पुग्नु गम्भीर विषय भएकाले सरकारले घटनाप्रति उच्च संवेदनशीलता देखाउँदै आवश्यक कदम चाल्नुपर्ने धारणा राखे।
प्रतिनिधि सभाको बैठकमा उठाइएका यी विषयहरूले सुकुम्वासी व्यवस्थापन, नागरिक अधिकारको संरक्षण तथा राज्यको जवाफदेहिताका सवाललाई पुनः केन्द्रमा ल्याएको छ।