२०८३, कार्तिक १९ गते

Nov 04 2026

पोखरामा मन्त्रीदेखि साना व्यवसायीका पसलसमेत जले, भाटभटेनीमा अझै आगो

पोखरामा मन्त्रीदेखि साना व्यवसायीका पसलसमेत जले, भाटभटेनीमा अझै आगो

बुधवार, भाद्र २५ २०८२
बुधवार, भाद्र २५ २०८२
  • काठमाडौं ।  जेनजी पुस्ताको आन्दोलनका क्रममा पोखरामा गण्डकीका सामाजिक विकास मन्त्री विन्दुकुमार थापा र परिवारको नाममा रहेको व्यापारिक भवनसहित ३ रिसोर्ट, इभेन्ट सेन्टर र भाटभटेनीमा आगजनी भएको छ ।

    पोखरामा रहेका सबैजसो प्रमुख सरकारी कार्यालयसहित मंगलबार आन्दोलनकर्मीले व्यक्तिका घर, भवन र व्यापारिक संस्थामासमेत आगो लगाएका हुन् ।

    मन्त्री थापाको पोखरा नयाँबजारमा रहेको घर, उनका भाई अटोमोबाइल एसोसिएसन नेपालका पूर्वअध्यक्ष ध्रुव थापाको गाडी स्वरूमसहितको भवन जलाएर ध्वस्त बनाइदिएका छन् ।

    पोखरा महानगरपालिकाको कार्यालय जलाएपछि आन्दोलनकारीले मेयर धनराज आचार्यको घरमा तोडफोड गर्दै आगो लगाएका थिए भने मेयर आचार्यका भाइ शिव आचार्य सञ्चालक रहेको पोखरा इभेन्ट सेन्टर पनि तोडफोडसँगै आगो लगाइदिएका हुन् ।

    आन्दोलनकारीहरूले मन्त्री थापाको घरसँगै पोखरा लेकसाइडमा रहेको अंशुभरा ग्रुपको व्यापारिक भवन, करिब डेढ महिना अगाडिमात्रै परराष्ट्रमन्त्री आरजु देउवा राणाले उद्घाटन गरेको बगैंचा रिसोर्ट तोडफोड गर्दै आन्दोलनकारीले आगजनी गरेका थिए ।

    आन्दोलनकारीले प्रा.डा. भरत पहारीको होटर सरोबरमा पनि तोडफोड गर्दै आगजनी गरेका छन् भने माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को लगानी रहेको भन्दै बरपिपल रिसोर्टमा पनि तोडफोड गर्दै सवारी साधन र एउटा भवनमा आगो लगाइदिएका छन् ।

    जेनजीको नाममा भएको आन्दोलनका सहभागीले पोखरामा रातिसम्मै उग्र प्रदर्शन गरिरहेका थिए । आन्दोलनकारीले सबै सरकारी कार्यालय जलाइसकेपछि पोखरा न्युरोडमा रहेको भाटभटेनी सुपरमार्केट तोडफोड, लुटपाट गर्दै आगजनी गरेका थिए ।

    भाटभटेनीमा लागेको आगो अझै निभेको छैन । भाटभटेनी सुपरमार्केटमा पूरै भवनमा आगो सल्किएको छ । अहिले पोखरा महानगरपालिकाको दमकलले आगो निभाउने प्रयास गरिरहेको छ । तर नियन्त्रणमा आउन सकेको छैन । भाटभटेनीभित्र अहिले पनि दनदनी आगो सल्किरहेको छ ।

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij