२०८३, आश्विन १ गते

Sep 17 2026

तीन महिनाभित्र विपद्को कारण ३ हजारभन्दा बढी घटना, १६० जनाले गुमाए ज्यान

तीन महिनाभित्र विपद्को कारण ३ हजारभन्दा बढी घटना, १६० जनाले गुमाए ज्यान

रोज नेपाल
शुक्रवार, श्रावण १ २०८३
रोज नेपाल
शुक्रवार, श्रावण १ २०८३
  • काठमाडौं । पछिल्ला तीन महिनामा देशभर विभिन्न प्रकारका प्राकृतिक तथा अन्य विपद्का हजार २९६ घटना दर्ता भएका छन्। ती घटनामा १६० जनाको मृत्यु, दुई जना बेपत्ता र ९४५ जना घाइते भएको तथ्यांक सार्वजनिक भएको छ।

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख १ गतेदेखि असार मसान्तसम्म भएका विपद्का घटनाबाट ४ हजार ३७५ परिवार प्रत्यक्ष रूपमा प्रभावित भएका छन्।

    तथ्यांकअनुसार सबैभन्दा धेरै ८९७ वटा आगलागीका घटना भएका छन्। आगलागीका कारण १७ जनाको ज्यान गएको, १०९ जना घाइते भएका र ९९० परिवार प्रभावित भएका छन्।

    यस अवधिमा सर्पदंशका ५१४ घटना रेकर्ड भएका छन्। ती घटनामा ३८ जनाले ज्यान गुमाएका, ४७९ जना घाइते भएका तथा ५१७ परिवार प्रभावित भएका छन्।

    त्यस्तै, ४७७ वटा हुरीका घटनाले १३ जनाको मृत्यु, ६८ जना घाइते र १ हजार ३५६ परिवार प्रभावित बनाएको छ। ४३३ पहिरोका घटनामा १२ जनाको मृत्यु, १५ जना घाइते र ३५१ परिवार प्रभावित भएका छन्।

    चट्याङका २२३ घटनामा २४ जनाले ज्यान गुमाएका छन् भने १२० जना घाइते भएका छन्। यस्तै १८१ वन्यजन्तु आक्रमणका घटनामा १७ जनाको मृत्यु, १०३ जना घाइते तथा २८७ परिवार प्रभावित भएको प्राधिकरणले जनाएको छ।

    बाढीका १६१ घटनामा नौ जनाको मृत्यु, दुई जना बेपत्ता र नौ जना घाइते भएका छन् भने ३९६ परिवार प्रभावित भएका छन्। भारी वर्षाका १५३ घटनामा चार जनाको मृत्यु, एक जना घाइते र १३२ परिवार प्रभावित भएका छन्।

    यसैबीच, लेक लाग्ने (उच्च हिमाली क्षेत्रमा हुने स्वास्थ्य समस्या) सम्बन्धी ५५ घटनामा २१ जनाको मृत्यु भएको छ भने ३५ जना अझै उपचाररत रहेको जनाइएको छ।

    त्यसैगरी, वन डढेलोका १९१ घटनामा एक जनाको मृत्यु र दुई जना घाइते भएका छन्। ढुङ्गा खसेर भएको एक घटनामा दुई जनाले ज्यान गुमाएका छन् भने दुईवटा हिउँपहिरोका घटनामा एक जनाको मृत्यु र एक जना घाइते भएको विवरणमा उल्लेख छ।

    प्राधिकरणले मनसुन सक्रिय भइरहेका बेला बाढी, पहिरो, चट्याङ तथा अन्य विपद्को जोखिम अझै उच्च रहने भएकाले नागरिकलाई सतर्क रहन र सम्बन्धित निकायका सूचनाको पालना गर्न आग्रह गरेको छ।

     
     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij