मोरङ । अमेरिकामा पौडी खेल्ने क्रममा गम्भीर घाइते भएका मोरङका एक नेपालीको उपचारकै क्रममा निधन भएको छ। पथरीशनिश्चरे नगरपालिका–१० का स्थायी बासिन्दा बिदुर निरौलाको ४० वर्षको उमेरमा बिहीबार निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
जानकारीअनुसार करिब १० दिनअघि अमेरिकास्थित एक पौडी पोखरीमा पौडी खेल्ने क्रममा उनी दुर्घटनामा परेका थिए। घटनापछि गम्भीर अवस्थामा अस्पताल भर्ना गरी उपचार गरिए पनि स्वास्थ्यमा सुधार आउन नसक्दा उनको ज्यान गएको हो।
निरौला करिब आठ वर्षअघि रोजगारीसँगै उज्ज्वल भविष्यको खोजीमा अमेरिका पुगेका थिए। उनको असामयिक निधनको खबर सार्वजनिक भएपछि परिवार, आफन्त तथा गृहपालिका पथरीशनिश्चरे क्षेत्रका स्थानीयवासी शोकमा परेका छन्।
मृतक बिदुर निरौला डाँस मोरङी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष हरि निरौलाका दाजु समेत हुन्। परिवारले उनको निधनप्रति दुःख व्यक्त गर्दै अन्त्येष्टिसम्बन्धी थप प्रक्रिया पछि सार्वजनिक गरिने जनाएको छ।