काठमाडौँ । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बाप्पेले सन् २०२६ फिफा विश्वकपमा सर्वाधिक गोलकर्ता बन्दै इतिहास रचेका छन्। उनले प्रतियोगिताभर आठ खेलमा १० गोल गर्दै गोल्डेन बुट जितेका हुन्। यससँगै एम्बाप्पे विश्वकप इतिहासमा दुई पटक गोल्डेन बुट जित्ने पहिलो खेलाडी बनेका छन्।
यसअघि कतारमा सम्पन्न सन् २०२२ विश्वकपमा पनि एम्बाप्पे आठ गोलसहित सर्वाधिक गोलकर्ता बनेका थिए। लगातार दुई संस्करणमा उत्कृष्ट गोलकर्ताको सम्मान जित्दै उनले विश्व फुटबलमा आफ्नो छुट्टै छाप छोडेका छन्।
२०२६ संस्करणमा एम्बाप्पेले लियोनल मेस्सीसहित अन्य प्रतिस्पर्धीलाई पछि पार्दै गोल्डेन बुट आफ्नो नाममा पारे। प्रतियोगिताको अन्तिम चरणसम्म गोलकर्ताको प्रतिस्पर्धा निकै रोमाञ्चक बने पनि फ्रान्सका कप्तान एम्बाप्पे १० गोलसहित शीर्ष स्थानमा रहे।
यद्यपि फ्रान्सले उपाधि जित्न नसके पनि एम्बाप्पेको व्यक्तिगत प्रदर्शन असाधारण रह्यो। लगातार दोस्रो विश्वकपमा गोल्डेन बुट जित्दै उनले विश्वकप इतिहासमा नयाँ कीर्तिमान कायम गरेका छन्।
फिफा विश्वकप २०२६ का व्यक्तिगत पुरस्कार सार्वजनिक हुँदा एम्बाप्पेलाई प्रतियोगिताको सर्वाधिक गोलकर्ताका रूपमा गोल्डेन बुट प्रदान गरिएको हो।