२०८३, आश्विन १ गते

Sep 17 2026

लोकतन्त्र र संविधानप्रति प्रतिबद्ध दलहरूसँग तत्काल संवाद गरौं: कांग्रेस प्रवक्ता

लोकतन्त्र र संविधानप्रति प्रतिबद्ध दलहरूसँग तत्काल संवाद गरौं: कांग्रेस प्रवक्ता

बुधवार, भाद्र २५ २०८२
बुधवार, भाद्र २५ २०८२
  • काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले लोकतन्त्र र संविधानप्रति प्रतिबद्ध दलहरूसँग तत्काल संवाद गर्न आवश्यक रहेको बताएका छन्।

    बुधबार प्रेस विज्ञप्ती जारी गर्दै प्रवक्ता महतले मुलुकमा कानुनी शासन र लोकतन्त्रको विकल्प नरहेको बताउँदै यससँग प्रतिबद्ध दलहरूसँग संवाद गर्नुपर्ने बताएका हुन्।

    ‘यस जटिल अवस्थामा पार्टीका सम्पूर्ण साथीहरू एकजुट भई आत्मविश्वास र भरोसा जगाउनु अपरिहार्य छ। लोकतान्त्रिक प्रक्रियाको पुनःस्थापना र संरक्षणका लागि हामी सबै फेरि सक्रिय हुन आवश्यक छ,’ उनले भनेका छन्।

    उनले नेपाली कांग्रेस लोकतन्त्रको लागि सबैभन्दा भरपर्दा शक्ति हो भन्ने कुनै दुबिधा नरहेको पनि बताएका छन्।

    ‘पार्टीले अन्य लोकतन्त्र र संविधानप्रति प्रतिवद्ध दलहरुसँग तत्काल संवाद गर्न आवश्यक छ। त्यसैले शान्ति, सुरक्षा,संवैधानिक व्यवस्था र लोकतान्त्रिक प्रक्रियाको संस्थागत पुनःस्थापनाका लागि राष्ट्रपतिज्यूको अगुवाइमा हुने संवाद र पहलमा नेपाली कांग्रेसले सक्रिय पहल गर्न आवश्यक छ,’ उनले भनेका छन्।

    कांग्रेसले नवयुवा पुस्ताले आयोजना गरेको विरोध प्रदर्शनमा हुन नपर्ने दुःखद घटना भएकोप्रति गहिरो दुःख व्यक्त गरेको छ।

    देशभर भएको तोडफोड, आगजनी र हिंसात्मक गतिविधिहरू शान्तिपूर्ण लोकतान्त्रिक बिरोधको मर्म र मान्यताबाट बाहिर गएको कांग्रेसको निष्कर्ष छ।

    देश,जनता र लोकतन्त्रप्रति प्रतिवद्ध नवयुवाहरुले अवश्य पनि यस्तो चाहेका थिएनन। कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका जस्ता लोकतन्त्रका आधारभूत स्तम्भहरूमा समेत आगजनी हुनु गम्भीर छ। म लगाएत धेरैको घर निजी सम्पति, उधोगव्यावसाय, सन्चारगृह लगाएतमा भएको आगजनी, तोडफोड र लुटपाट अत्यन्त दुःखद र निन्दनीय छ। यो एक दिनको क्षति १० वर्षे माओवादीद्वन्दको बेला भन्दा धेरै बढी हो। यस्ले लगानिको बातावरण लाई पनि बिगारेको छ र क्षतिपुर्ती गर्न वर्षौ र ठुलो लगानी लाग्ने निश्चित छ,’ विज्ञप्तीमा भनिएको छ।

    सभापति शेरबहादुर देउवालगायतका नेताहरूमाथि भएको सांघातिक आक्रमणको पनि कांग्रेसले निन्दा तथा भर्त्सना गरेको छ।  

    ‘देश अहिले राजनीतिक शून्यता र कानुनी अनिश्चिततामा छ। राष्ट्रपतिको समन्वयमा सुरक्षा निकायहरू सक्रिय भई शान्ति–सुरक्षा अमनचयन कायम हुन जरुरी छ,’ विज्ञप्तीमा भनिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij