हेटौडा । बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका ६ जना मन्त्रीले आज सामूहिक रूपमा राजीनामा दिने भएका छन्। यससँगै एमालेले सरकारलाई दिएको समर्थन पनि औपचारिक रूपमा फिर्ता लिने तयारी गरेको छ।
सरकारमा एमालेको नेतृत्व गरिरहेका कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्री मधुसूदन पौडेलका अनुसार आज बिहान मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई भेटेर सबै मन्त्रीले राजीनामा बुझाउने कार्यक्रम तय भएको छ। उनका अनुसार पार्टीको स्पष्ट निर्देशनपछि मन्त्रीहरू हेटौंडा पुगेर राजीनामाको प्रक्रिया अघि बढाएका हुन्।
एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रदेश सरकारको शक्ति–सन्तुलनबारे भएको छलफलपछि पार्टी नेतृत्वबाट सरकार छाड्ने निर्णय आएको जनाइएको छ।
सरकारमा एमालेका तर्फबाट मधुसूदन पौडेल, डा. दिनेशचन्द्र देवकोटा, जयराम थापा, भरतबहादुर केसी, किरण थापा र बिन्दु श्रेष्ठ मन्त्री रहेका छन्। मन्त्रालय पुनःसंरचनापछि केही मन्त्रीलाई एउटै मन्त्रालयमा फरक–फरक जिम्मेवारी दिइएको थियो, जसले सरकारको कार्यशैलीबारे व्यापक आलोचना समेत भएको थियो।
मुख्यमन्त्री बानियाँले हालै प्रदेश सरकारका १४ मध्ये ६ मन्त्रालय खारेज गर्दै मन्त्रालय समायोजन गरेका थिए। त्यसपछि एउटै मन्त्रालयमा एकभन्दा बढी मन्त्रीलाई जिम्मेवारी दिइएको निर्णय विवादमा परेको थियो।
बागमती प्रदेशमा नेपाली कांग्रेस र एमालेको संयुक्त सरकार साउन २०८१ देखि सञ्चालनमा थियो। इन्द्रबहादुर बानियाँले २० साउन २०८२ मा मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका थिए। अब एमालेले समर्थन फिर्ता लिएसँगै बानियाँ नेतृत्वको सरकार अल्पमतमा पर्ने अवस्था सिर्जना भएको छ।
संवैधानिक व्यवस्थाअनुसार सरकारको समर्थन गुमेपछि मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्नेछ। त्यसैले एमालेको निर्णयसँगै बागमती प्रदेशको राजनीतिक समीकरण नयाँ मोडमा पुगेको छ।