काठमाडाैँ । नेपाली काग्रेसका नेता डा. शेखर काेइरालाले पाटीकाे आन्तरिक सहमति र एकताबिना राष्ट्रिय एकता सम्भव नभएकाे बताएका छन् । आज बुधबार ४४ औँ विपी स्मृति दिवसकाे अवसरमा प्रज्ञा प्रतिष्ठानमा आयाेजित कार्यक्रममा सम्बाेधन गर्दै काेइरालाले यस्ताे बताएका हुन् ।
उनले पार्टीमा समन्वयको अभाव रहेको तथा एकलौटी ढंगले पार्टी सञ्चालन गरिएको आरोप लगाउँदै पार्टीको वर्तमान अवस्था गम्भीर रहेको बताए। पार्टीलाई संकटबाट बाहिर निकाल्न सबै पक्षबीच संवाद, सहमति र एकता आवश्यक रहेको उनको भनाइ थियो।
कोइरालाले राष्ट्रिय सहमति र एकताको कुरा गर्ने नेतृत्वले सबैभन्दा पहिले पार्टीभित्रको आन्तरिक एकता कायम गर्नुपर्नेमा जोड दिए। उनले पार्टीभित्र विश्वास, सहकार्य र समन्वयको वातावरण बनेपछि मात्र देशलाई सही दिशामा अघि बढाउन सकिने धारणा व्यक्त गरे।
डा. कोइरालाले २०१७ साल पुस १ गतेको घटना स्मरण गर्दै वीपी कोइरालामा रहेको अद्भुत धैर्यताको चर्चा गरे । तत्कालीन समयमा आफू शान्तभवन अस्पताल (हालको पाटन अस्पताल) मा भर्ना भएको बेला वीपीले अस्पतालमै आएर राजाले आफूहरूलाई समात्न लागेको जानकारी गराएको उनले बताए ।
गिरफ्तारीपछि वीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई लगायतका नेताहरूले सुन्दरीजल बन्दीगृहमा सात वर्ष बिताउनुपरेको इतिहास स्मरण गर्दै डा. कोइरालाले युवा तथा विद्यार्थीहरूलाई इतिहास बुझ्नका लागि सुन्दरीजलको भ्रमण गर्न सुझाव दिए । ‘वीपीलाई बुझ्न र उहाँको सङ्घर्षलाई महसुस गर्न हाम्रा विद्यार्थी भाइबहिनीहरू एकपटक सुन्दरीजल पुग्नुपर्छ,’ कोइरालाले भने ।