काठमाडौं । मुलुकको निर्यात व्यापारलाई थप प्रतिस्पर्धी र प्रभावकारी बनाउने उद्देश्यसहित प्रधानमन्त्री बालेन्द्र शाहले आज निर्यातमुखी उद्योगका प्रतिनिधिहरूसँग प्रत्यक्ष छलफल गर्ने भएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११:३० बजे तय गरिएको बैठकमा प्लाइउड, कार्पेट, पश्मिना तथा डग च्यु उद्योगसँग सम्बन्धित प्रमुख व्यवसायी तथा निर्यातकर्ताहरू सहभागी हुने कार्यक्रम छ।
छलफलमा नेपाल प्लाइउड उत्पादक सङ्घका अध्यक्ष होमप्रसाद घिमिरे, नेपाल कार्पेट उत्पादक तथा निर्यातकर्ता सङ्घका अध्यक्ष बलराम गुरुङ, नेपाल पश्मिना उद्योग सङ्घका अध्यक्ष धनप्रसाद लामिछाने, कार्पेट तथा प्लाइउड निर्यातकर्ता देवानन्द सरावगी तथा नेपाल डग च्यु उत्पादक सङ्घका अध्यक्ष रेशमबहादुर पोखरेलको सहभागिता रहनेछ।
बैठकमा निर्यात क्षेत्रमा देखिएका व्यावहारिक समस्या, नीतिगत जटिलता, अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा बढाउने उपाय तथा उद्योगमैत्री वातावरण निर्माणका विषयमा विचार–विमर्श हुने अपेक्षा गरिएको छ।
सरकारले पछिल्लो समय निजी क्षेत्रसँगको सहकार्यलाई प्राथमिकता दिँदै अर्थतन्त्रलाई चलायमान बनाउने प्रयास गरिरहेको छ। यही क्रममा प्रधानमन्त्री शाहले विभिन्न उद्योग, व्यवसाय तथा सरोकारवाला निकायसँग नियमित संवादलाई निरन्तरता दिइरहेका छन्। यस संवादबाट निर्यात प्रवर्द्धनका लागि आवश्यक नीतिगत सुधार र कार्यान्वयनका सम्भावित उपाय पहिचान गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।
