काठमाडौं। नेपाल राष्ट्र बैंकले डिजिटल भुक्तानी सेवासम्बन्धी व्यवस्था संशोधन गर्दै वालेट प्रयोगकर्ताका लागि राष्ट्रिय परिचयपत्रको विवरण अनिवार्य गर्ने नयाँ प्रावधान लागू गरेको छ।
शुक्रबार सार्वजनिक गरिएको भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशिका, २०८२ (१५औँ संशोधन) अनुसार अब नेपाली नागरिकले नयाँ वालेट खाता खोल्दा राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखअनुसार आफ्नो पहिचान प्रमाणित गर्नुपर्नेछ।
नयाँ व्यवस्थाअनुसार हाल सञ्चालनमा रहेका सबै वालेट प्रयोगकर्ताले पनि २०८३ असोज मसान्तभित्र राष्ट्रिय परिचयपत्रसम्बन्धी स्वघोषणा पेश गर्नुपर्नेछ। राष्ट्रिय परिचयपत्र प्राप्त गरिसकेका सेवाग्राहीले सोही अवधिभित्र आफ्नो वालेट खातामा परिचयपत्र नम्बर अद्यावधिक गर्नुपर्ने राष्ट्र बैंकले स्पष्ट गरेको छ।
विदेशमा रहेका नेपालीका लागि भने अनलाइनमार्फत वालेट खोल्ने सुविधा यथावत राखिएको छ। उनीहरूले नेपाल फर्किएपछि छ महिनाभित्र राष्ट्रिय परिचयपत्रको विवरण अद्यावधिक गर्नुपर्ने व्यवस्था गरिएको छ।
यस्तै, अशक्त तथा असहाय नागरिकका हकमा राष्ट्रिय परिचयपत्र नभए पनि अन्य आधिकारिक कागजातका आधारमा वालेट खोल्न र वित्तीय कारोबार गर्न सकिने व्यवस्था कायम राखिएको राष्ट्र बैंकले जनाएको छ।
डिजिटल भुक्तानी प्रणालीलाई थप सुरक्षित, पारदर्शी र विश्वसनीय बनाउने उद्देश्यले यो व्यवस्था लागू गरिएको जनाइएको छ।