२०८३, आश्विन १ गते

Sep 17 2026

एकैदिन दुई स्थानमा ॐ समाज डेण्टल अस्पतालको निःशुल्क दन्त स्वास्थ्य शिविर, सयौं नागरिक तथा २९० विद्यार्थी लाभान्वित

एकैदिन दुई स्थानमा ॐ समाज डेण्टल अस्पतालको निःशुल्क दन्त स्वास्थ्य शिविर, सयौं नागरिक तथा २९० विद्यार्थी लाभान्वित

सोमवार, श्रावण ११ २०८३
सोमवार, श्रावण ११ २०८३
  • काठमाडौं। ॐ समाज डेण्टल अस्पतालले सामाजिक सेवाप्रतिको आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिँदै आइतबार काठमाडौं र ललितपुरमा एकैदिन दुई स्थानमा निःशुल्क दन्त स्वास्थ्य शिविर सञ्चालन गरेको छ।

    शिविरमार्फत स्थानीय नागरिक तथा विद्यालयका २९० विद्यार्थीसहित सयौं सेवाग्राहीले निःशुल्क दन्त परीक्षण, उपचारसम्बन्धी परामर्श तथा मुख स्वास्थ्यबारे सचेतनामूलक शिक्षा प्राप्त गरेका छन्। तार्केश्वर नगरपालिका–८ स्थित शिव मन्दिर परिसरमा सामाजिक रूपान्तरणका लागि नागरिक समाजको आयोजनामा बिहान ७ बजेदेखि ११ बजेसम्म सञ्चालन भएको शिविरमा स्थानीय बासिन्दाहरूको दाँत तथा मुख स्वास्थ्य परीक्षण गरिएको थियो।

    ॐ समाज डेण्टल अस्पताल बनस्थली शाखाकी प्रमुख सबिना पपन गुरुङको नेतृत्वमा रहेको विशेषज्ञ टोलीले सेवा प्रदान गर्दै दन्त रोगको समयमै पहिचान र रोकथामबारे आवश्यक परामर्श दिएको थियो। त्यसैगरी, ललितपुरको सानेपास्थित Shining Star Boarding School मा सामाजिक रूपान्तरणका लागि नागरिक समाजको आयोजना तथा ॐ समाज डेण्टल अस्पतालको सहकार्यमा सम्पन्न निःशुल्क दन्त स्वास्थ्य शिविरमा नर्सरीदेखि कक्षा १० सम्म अध्ययनरत २९० जना विद्यार्थीको दन्त परीक्षण गरिएको थियो। शिविरको नेतृत्व अस्पतालका क्याम्प प्रमुख धन प्रसाद घिमिरेले गरेका थिए।

    विद्यार्थीहरूलाई दाँतको उचित हेरचाह, नियमित ब्रस गर्ने तरिका, स्वस्थ खानपान र मुख स्वास्थ्यको महत्वबारे व्यवहारिक जानकारीसमेत प्रदान गरिएको थियो। कार्यक्रममा बोल्दै सामाजिक रूपान्तरणका लागि नागरिक समाजका अध्यक्ष यम जी.सी.ले स्वास्थ्य सेवा प्रत्येक नागरिकको आधारभूत अधिकार भएको उल्लेख गर्दै यस्ता निःशुल्क शिविरले समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे। उहाँले भन्नुभयो, “बच्चाको मुस्कान जोगाउनु भनेको भविष्य जोगाउनु हो। विद्यालयमै पुगेर स्वास्थ्य सेवा दिनु उपचार मात्र होइन, स्वस्थ पुस्ता निर्माण गर्ने अभियान हो। समाज परिवर्तनका लागि यस्ता सहकार्यहरू अझ व्यापक बन्न आवश्यक छ।”

    क्याम्प प्रमुख धन प्रसाद घिमिरेले विद्यालयमै पुगेर बालबालिकाको दन्त परीक्षण गर्न पाउनु ठूलो सन्तुष्टिको विषय भएको बताउँदै भन्नुभयो, “धेरै बालबालिकाले सामान्य समस्यालाई पनि बेवास्ता गरिरहेका हुन्छन्। समयमै परीक्षण र सचेतनाले भविष्यमा हुने जटिल समस्या रोक्न सक्छ। हामी उपचार मात्र होइन, स्वस्थ बानी बसाल्ने अभियानमा छौं। एउटा स्वस्थ मुस्कानले आत्मविश्वास र उज्ज्वल भविष्यको ढोका खोल्छ।” बनस्थली शाखाकी प्रमुख सबिना पपन गुरुङले दन्त स्वास्थ्यलाई समग्र स्वास्थ्यको महत्वपूर्ण आधारका रूपमा लिनुपर्ने बताउँदै भावुक हुँदै भन्नुभयो, “सेवा नै हाम्रो धर्म हो। कुनै नागरिक आर्थिक अभावका कारण दन्त उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले हामी समुदाय–समुदायमा पुगिरहेका छौं। बिरामीको अनुहारमा मुस्कान फर्किएको देख्नु नै हाम्रो सबैभन्दा ठूलो उपलब्धि र प्रेरणा हो।”

    ॐ समाज डेण्टल अस्पतालले “सडकदेखि सदनसम्म स्वास्थ्य सेवा” भन्ने अभियानलाई आत्मसात् गर्दै विभिन्न विद्यालय, समुदाय तथा धार्मिक स्थलहरूमा नियमित रूपमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ। अस्पतालका अनुसार यस्ता कार्यक्रमले उपचारभन्दा पनि रोगको समयमै पहिचान, रोकथाम र जनचेतना अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याइरहेका छन्।

    अस्पतालले आगामी दिनमा पनि देशका विभिन्न स्थानमा यस्ता निःशुल्क स्वास्थ्य शिविरलाई निरन्तरता दिँदै स्वस्थ, सचेत र मुस्कानयुक्त समाज निर्माणमा आफ्नो योगदान अझ सशक्त बनाउने प्रतिबद्धता जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij