काठमाडौं । नेपाली सांगीतिक बजारमा गायक सुनिल थापा मगरको नयाँ गीत ‘सोल्टिनी सेवारो’ यतिबेला चर्चाको विषय बनेको छ। सार्वजनिक भएको छोटो समयमै गीतले सामाजिक सञ्जालमा राम्रो प्रतिक्रिया बटुल्दै दर्शक तथा श्रोताको मन जित्न सफल भएको छ।
प्रेम, आत्मीयता, सांस्कृतिक समन्वय र भावनात्मक उतारचढावलाई कलात्मक रूपमा प्रस्तुत गरिएको यस गीतमा चर्चित गायक तथा संगीतकार एनिस एन्जल राईको शब्द तथा संगीत रहेको छ। गीतलाई सुनिल थापा मगरको सुमधुर आवाजले थप आकर्षक बनाएको छ भने राजु कार्कीले संगीत संयोजन गरेका छन्।
विशेषगरी राई–लिम्बू समुदायको संस्कृति, परम्परा र जीवनशैलीलाई आधार बनाएर तयार गरिएको यस गीतले मौलिक भाका, प्रेमभाव र सांस्कृतिक सौन्दर्यलाई समेट्दै नयाँ स्वाद प्रस्तुत गरेको छ। गीतको भिडियोमा पनि यही सांस्कृतिक पक्षलाई प्रभावकारी रूपमा चित्रण गरिएको छ। प्रेमकथासँगै समकालीन युवा पुस्ताको भावना र सम्बन्धका विविध पक्षलाई समेत भिडियोले समेटेको देखिन्छ।
गीतको रेकर्डिङ ड्रिम्स रेकर्डिङ स्टुडियोमा विप्लव अधिकारीले गरेका हुन् भने मिक्सिङ तथा मास्टरिङको जिम्मेवारी प्रकाश केसीले सम्हालेका छन्। प्राविधिक रूपमा पनि गीत उत्कृष्ट बनेको भन्दै दर्शक तथा श्रोताबाट सकारात्मक प्रतिक्रिया आइरहेको छ।
गीतको भिडियो मकवानपुर जिल्लाका रमणीय प्राकृतिक स्थानहरूमा छायांकन गरिएको छ। भिडियोमा गायक सुनिल थापा मगर स्वयंले अभिनय गरेका छन् भने उनलाई अभिनेत्री रेबिका मगरले साथ दिएकी छन्।
भिडियोको नृत्य निर्देशन भूपेन्द्र रिखाम मगरले गरेका हुन्। क्यामेरा तथा ड्रोन सञ्चालन सञ्जोक श्रेष्ठले गरेका छन् भने उत्पादन व्यवस्थापन योगेश राना मगरले सम्हालेका छन्। श्रृङ्गार प्रिया मगरले गरेकी हुन्। भिडियोको निर्देशन, सम्पादन (करेक्सन) तथा कलर ग्रेडिङ एकान्त मगरले गरेका छन्।
शब्द, संगीत, गायन र प्राविधिक पक्षको सशक्त संयोजनका कारण ‘सोल्टिनी सेवारो’ आगामी दिनमा अझ लोकप्रिय बन्ने अपेक्षा गरिएको छ। नेपाली संगीत क्षेत्रमा नयाँ पहिचान स्थापित गर्ने लक्ष्यसहित सार्वजनिक गरिएको यो सिर्जनाले गायक सुनिल थापा मगरलाई दर्शक–श्रोतामाझ थप परिचित बनाउने विश्वास गरिएको छ।