२०८३, आश्विन १ गते

Sep 17 2026

वर्षा र पहिरोको प्रभावः देशका विभिन्न राजमार्गमा यातायात अवरुद्ध, यात्रा अघि जानकारी लिन आग्रह

वर्षा र पहिरोको प्रभावः देशका विभिन्न राजमार्गमा यातायात अवरुद्ध, यात्रा अघि जानकारी लिन आग्रह

रोज नेपाल
बिहिवार, श्रावण १४ २०८३
रोज नेपाल
बिहिवार, श्रावण १४ २०८३
  • काठमाडौं । लगातारको वर्षासँगै आएको बाढी, पहिरो र सडक कटानका कारण देशका विभिन्न भागका मुख्य राजमार्ग तथा सडकखण्डमा सवारी सञ्चालन प्रभावित भएको छ। केही स्थानमा सडक पूर्ण रूपमा बन्द भएका छन् भने केही क्षेत्रमा सुरक्षाको दृष्टिले निश्चित समयका लागि यातायात रोकिएको छ।

    नेपाल प्रहरीले बिहीबार बिहान ७ः५० बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बीपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा सम्भावित बाढीको जोखिमका कारण साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सवारी सञ्चालन स्थगित गरिएको जनाएको छ। त्यस्तै, कान्ति लोकपथमा पनि साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म कुनै पनि सवारी चलाउन नदिने व्यवस्था गरिएको छ।

    इलाम नगरपालिका–९ अन्तर्गत मेची राजमार्गमा सडक हिलाम्मे भएपछि यातायात पूर्ण रूपमा ठप्प भएको छ। यस्तै, सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका क्षेत्रमा पर्ने अरनिको राजमार्गको जिरोकिलो र कोदारी आसपास पहिरो खस्दा सडक बन्द भएको प्रहरीले जनाएको छ।

    दोलखाको किर्नेटारस्थित लामासाँघु–रामेछाप सडकखण्ड सामाकोसी खोलाले कटान गरेपछि त्यहाँ पनि आवागमन रोकिएको छ। रसुवाको उत्तरगया गाउँपालिका–५ को पासाङल्हामु सडकखण्डमा त्रिशूली नदीले सडक बगाएपछि यातायात सञ्चालन हुन सकेको छैन।

    यसैगरी, ललितपुरको वाग्मती गाउँपालिका क्षेत्रमा पर्ने कान्ति लोकपथमा सुक्खा पहिरो झरेपछि सडक बन्द भएको छ भने जाजरकोट–डोल्पा सडकखण्डमा मूलपानी खोलाको बाढीले सडक कटान गर्दा यातायात पूर्ण रूपमा प्रभावित भएको छ।

    वर्षायाममा बाढी, पहिरो र सडक अवरोधको जोखिम अझै कायम रहेकाले यात्रा गर्नुअघि सम्बन्धित निकायबाट सडकको पछिल्लो अवस्थाबारे जानकारी लिन र आवश्यक सावधानी अपनाउन नेपाल प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij