२०८३, कार्तिक १८ गते

Nov 03 2026

साउन १५ मा खिर खाने परम्परा: स्वादसँगै संस्कृति, स्वास्थ्य र सद्भावको पर्व

साउन १५ मा खिर खाने परम्परा: स्वादसँगै संस्कृति, स्वास्थ्य र सद्भावको पर्व

रोज नेपाल
शुक्रवार, श्रावण १५ २०८३
रोज नेपाल
शुक्रवार, श्रावण १५ २०८३
  • काठमाडौं । आज साउन १५ गते देशभर परिवार, आफन्त र इष्टमित्रसँग खिर खाएर परम्परागत रूपमा यो दिन मनाइँदै छ। नेपालमा असार १५ मा दही–चिउरा खाने र साउन १५ मा खिर खाने चलन लामो समयदेखि सांस्कृतिक परम्पराका रूपमा कायम छ।

    दूध, चामल, घिउ, सुकमेल तथा विभिन्न मसला मिसाएर तयार गरिने खिर स्वादिष्ट मात्र नभई पोषणयुक्त परिकारका रूपमा पनि परिचित छ। यही कारण यसलाई शुभकार्य, धार्मिक अनुष्ठान तथा विशेष अवसरमा प्राथमिकताका साथ प्रयोग गर्ने गरिन्छ।

    धर्मशास्त्रीय मान्यताअनुसार संस्कृतमा खिरलाई ‘पायस’ भनिन्छ। सात्विक भोजनमध्ये उत्कृष्ट मानिने पायसलाई देवपूजा, पितृकार्य तथा वैदिक कर्मकाण्डमा विशेष स्थान दिइएको छ। धार्मिक विश्वासले पनि यसको महत्व अझ बढाएको मानिन्छ।

    साउन महिनामा पर्याप्त वर्षा हुने भएकाले हरियो घाँस प्रशस्त पाइन्छ। यस समयमा गाईभैँसीले तुलनात्मक रूपमा बढी दूध दिने भएकाले दूधबाट बन्ने खिर पकाई आफन्त, चेलीबेटी र छिमेकीलाई निम्तो गरेर सँगै खाने चलन विकास भएको जनविश्वास छ।

    साउन महिना भगवान् शिवको आराधनासँग पनि जोडिएको छ। शिवलाई दूध तथा दूधबाट बनेका परिकार प्रिय मानिने धार्मिक विश्वासका कारण धेरै श्रद्धालुले खिर बनाएर पूजा–अर्चनासहित प्रसादका रूपमा अर्पण गर्ने गर्छन्।

    पोषणविद्हरूका अनुसार दूध, चामल र सुकामेवा मिसाएर बनाइने खिरले शरीरलाई आवश्यक ऊर्जा उपलब्ध गराउनुका साथै रोग प्रतिरोधात्मक क्षमता मजबुत बनाउन सहयोग पुर्‍याउन सक्छ। सन्तुलित मात्रामा सेवन गर्दा यसले शरीरलाई आवश्यक कार्बोहाइड्रेट, प्रोटिन र बोसोसमेत प्रदान गर्ने भएकाले स्वास्थ्यका दृष्टिले पनि उपयोगी परिकार मानिन्छ।

    परम्परा, धार्मिक आस्था, पारिवारिक भेटघाट र स्वास्थ्यका पक्षलाई एकैसाथ जोड्ने साउन १५ को खिर खाने संस्कृतिले नेपाली समाजमा आपसी सद्भाव र आत्मीयतालाई अझ बलियो बनाउने विश्वास गरिएको छ।

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij